थप एकजना घाइतेको मृत्यु भएपछि कप्तानगन्जमा फेरि तनाव

स्थानीयले रुख ढालेर गरे सडक अवरुद्ध, गृहमन्त्रीसँगको छलफलपछि पनि आफन्तले रवीन्द्रको शव बुझ्न मानेनन्

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण
  • प्रहरीले रवीन्द्र मेहताको शव जिम्मा लगाउन खोजे पनि आफन्तले गृहमन्त्री नआएसम्म शव नबुझ्ने अडान लिएका थिए । गोली हान्ने प्रहरी र पहिले झडप गर्ने समूहलाई कारबाही हुनुपर्नेलगायतका माग उनीहरूले गरेका छन् । गृहमन्त्री सुधन गुरुङसँग भएको आफन्तको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको मृत्यु भएपछि सुनसरीको कप्तानगन्जमा फेरि तनाव बढेको छ । आक्रोशित स्थानीयले मंगलबार सडकमा रुख ढालेर र बाँस तेर्स्याएर आवागमन बन्द गरेपछि सुनसरी प्रशासनले संयमता अपनाउन अपिल गरेको छ ।

गत १० साउन राति दुई समुदायका युवाहरूबिच भएको झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार मृत्यु भएको हो । प्रहरीले मेहताको शव परिवारलाई जिम्मा लगाउन खोजे पनि आफन्तले गृहमन्त्री नआएसम्म शव नबुझ्ने अडान लिएका थिए । गोली हान्ने प्रहरी र पहिले झडप गर्ने समूहलाई कारबाही हुनुपर्नेलगायतका माग उनीहरूले गरेका छन् । गृहमन्त्री सुधन गुरुङसँग भएको आफन्तको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । आफन्तले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने र कुनै पनि सहमति नगर्ने अडान लिएपछि बुधबार पुनः छलफल हुने भएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार उपचारका क्रममा मृत्यु भएका मेहताका आफन्तसँग गृहमन्त्री गुरुङले एक घण्टाभन्दा बढी छलफल गरेका थिए । तर, दोषीलाई कारबाही नभएसम्म कुनै पनि सहमति गर्न आफन्त सहमत भएनन् । ‘छलफलमा गृहमन्त्रीज्यूले दोषीलाई जसरी पनि कारबाही गर्ने भनेर बताउनुभयो, तर मृतकका आफन्तहरूले कारबाही नै हुनुपर्छ, नत्र सहमति नगर्ने अडान लिनुभयो, शव आइसमा राख्ने सहमति भने भयो, पोस्टमार्टमलगायतको सहमति भएन,’ उनले भने, ‘अस्पताल ल्याउँदा गम्भीर अवस्था थियो, उपचार सम्भव भएन ।’ गृहमन्त्री गुरुङले बुधबार फेरि छलफलमा आउन आफन्तलाई आग्रह गरेका छन् । मंगलबारको छलफलमा मृतकका बुबाआमा पनि सहभागी थिएनन् । बुधबार बुबाआमा आएपछि थप छलफल हुने बताइएको छ ।

गोली लागेर गम्भीर घाइते भएर विराटनगरमा उपचार गराइरहेका मेहताको स्वास्थ्य अवस्था जटिल बनेपछि शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो । उनको बायाँ तिघ्रामा लागेको गोलीले गर्दा नसामा गम्भीर चोट पुगेकाले बायाँ खुट्टा काटेर फालिएको थियो ।

देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा भएको घटनामा यसअघि देवानगन्जकै युवाहरू ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको छ । घटनामा घाइते भएका एकजनाको काठमाडौं र सातजनाको विराटनगरमा अझै उपचार भइरहेको छ । कप्तानगन्ज घटनापछि उत्पन्न तनाव फैलँदा सिराहाको गोलबजारमा गोली लागेर औरही गाउँपालिका– २, तुलसीयाहीका १५ वर्षीय गणेश यादवको पनि मृत्यु भएको थियो ।

संयमता अपनाउन सुनसरी प्रशासनको अपिल 
कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले संयमता अपनाउन सबै पक्षसँग सार्वजनिक अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार सार्वजनिक अपिल जारी गर्दै सोही घटनामा ज्यान गुमाएका परिवारसँग गृहमन्त्रीको उपस्थितिमा भएको सहमतिअनुसार रवीन्द्र मेहताको परिवारलाई पनि राहत तथा सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको जानकारी पनि गराएका छन् । उनले घटनाबाट प्रभावित सबै पक्षलाई धैर्यता, संयमता र सहिष्णुता अपनाउन आग्रह गर्दै शोकको यस घडीमा सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राखी कुनै पनि गतिविधिले थप तनाव सिर्जना नगर्न र वातावरणलाई नबिथोल्न अनुरोध गरेका छन् ।

गोलबजार पुग्यो गृहको छानबिन टोली
सिराहाको गोलबजारमा पाँच दिनअघि एकजनाको ज्यान जाने गरी भएको प्रदर्शनसँगै तोडफोड, आगजनीसम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोलीले छानबिन थालेको छ । मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको पाँच सदस्यीय टोलीले घटनाको निष्पक्ष छानबिनका लागि मंगलबारदेखि विस्तृत रूपमा घटनास्थलको निरीक्षण, आवश्यक तथ्य प्रमाण संकलनसँगै स्थानीय सरोकारवालासँग छलफल थालेको हो । प्रदर्शनका क्रममा गोलबजारमा भएका क्षतिग्रस्त व्यापारिक, निजी घर पसलको स्थलगत अनुगमन गरेको समितिले मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठकमार्फत घटनाको विषयमा जानकारी लिएको छ ।

त्यसपछि छानबिन समितिले दोस्रो चरणमा उद्योग व्यापार संघ गोलबजारका पदाधिकारीसहित स्थानीय व्यवसायीसँग छलफल गरी प्रदर्शनका क्रममा भएको भौतिक तथा आर्थिक क्षति तथा व्यवसायीका गुनासो टिपोट गरेको संघका अध्यक्ष विजय साहले बताए । उनका अनुसार समितिले तेस्रो चरणमा स्थानीय मुस्लिम समुदायका अगुवासँग छुट्टै छलफल गरी घटना हुनुको कारण, त्यसको प्रभाव र सामाजिक सद्भाव कायम गर्न सम्भावित उपायहरूबारे छलफल गरेको छ । छानबिन समितिका संयोजक सहसचिव शाहीका अनुसार सुनसरीमा भएको घटनाको चार दिनपछि सिराहाको गोलबजारमा परेको प्रभाव, प्रदर्शनमा गोली चल्नुपर्ने अवस्था, विद्यार्थी गणेश यादवको मृत्युबारे विस्तृत छानबिन थालिएको छ । प्रदर्शनका क्रममा गोली प्रहारले विद्यार्थीको मृत्युसम्बन्धी घटना, त्यसको पृष्ठभूमि र कारणलगायत विषयमा छानबिन र सिफारिससहित गृह मन्त्रालयमा प्रतिवेदन बुझाइने उनले बताए ।

१४ साउन दिउँसो भएको हिंसात्मक प्रदर्शनपछि भएको आगजनी र तोडफोडले निजी घर पसल तथा सम्पत्तिमा भएको क्षतिको कारणले मारमा परेका पीडित व्यवसयीहरूले स्थानीय प्रहरीमा निवेदन दिन थालेका छन् । सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रदर्शनका क्रममा क्षति व्यहोरेका व्यापारी व्यवसायीले आफूलाई परेको मर्काको व्यहोरा खुलाएर स्थानीय प्रहरीमा निवेदन गरिएको आग्रहबमोजिम निवेदन संकलन हुन थालेको बताए । ‘स्थानीय प्रहरीले सबैको निवेदन संकलन गरेपछि प्रमाणको आधारमा स्थलगत मुचुल्का उठाएर क्षतिको विवरण तयार गर्छ,’ उनले भने, ‘त्यसपछि आएको विवरणहरूको विश्लेषण गरी एकमुस्ट रूपमा मन्त्रालयमा पठाउँछौँ ।’

उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष साहले व्यवसायीलाई सुरक्षित र भयरहित ढंगले व्यापार व्यवासय गर्न पाउने वातावरण तयार गर्न र व्यापार व्यवसायलाई पुरानै लयमा फर्काउन राज्यको पहिलो जिम्मेवारी रहेको बताए । ‘त्यसमा स्थानीय व्यापारीहरूको पनि सहयोग रहन्छ,’ उनले भने । जिल्लाकै मुख्य व्यापारिक स्थलका रूपमा उदाउँदै गरेको गोलबजारमा १४ साउनमा भएको प्रदर्शनपछि भौतिक तथा आर्थिक क्षतिको यकिन मूल्यांकनका लागि छुट्टै छानबिन गरी राज्यले पीडित व्यापारीलाई उचित क्षतिपूर्ति दिनुपर्ने गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठले माग गरे ।  

सुझावित समाचार