नेकपा एमालेकी सांसद पद्मा अर्यालले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या छुट्टाछुट्टै नीति र प्रक्रियाबाट समाधान गर्न नसकिने बताएकी छिन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुवै समूहको समस्या एउटै ढाँचाबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइन्। सुकुमवासीलाई एकातिर र अव्यवस्थित बसोबासीलाई अर्कोतिर राखेर समाधान खोज्ने प्रयास प्रभावकारी नहुने उनको भनाइ थियो।
‘सुकुमवासी एकातिर र अव्यवस्थित बसोबासी अर्कोतिर राखेर दुई ढंगले यो समस्या समाधान हुन सक्दैन। दुवैको समस्या एउटै डालोबाट समाधान गर्नुपर्ने परिस्थिति छ,’ उनले भनिन्।
अर्यालले सरकारले यस विषयमा आवश्यक ध्यान दिनुपर्ने आग्रह गर्दै भूमि व्यवस्थापनका सवालमा एमालेले आवश्यक सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारिन्।
उनले एमाले नेतृत्वको सरकारले भूमि नीति र भू–उपयोग कानुन निर्माण गरेर दीर्घकालीन आधार तयार गरेको दाबी गर्दै अहिले त्यसको कार्यान्वयनको चरणमा देश अघि बढिरहेको उल्लेख गरिन्।
सुकुमवासीको पीडा आफूहरूले नजिकबाट बुझेको भन्दै उनले त्यसको दिगो समाधानका लागि सरकारसँग सहकार्य गर्न एमाले प्रतिबद्ध रहेको बताइन्।