धनगढी उपमहानगरपालिका– ४, की २३ वर्षीया पूजा धानुकको शव आठ दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ । मृतकका माइतीपक्षले उनको हत्या भएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरेर शव उठाउन अस्वीकार गरेका छन् ।
माइतीपक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पूजाका श्रीमान् भरत धामीसहित पाँचजनालाई पक्राउ गरिसकेको छ । घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै माइतीपक्षले जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय र सेती प्रादेशिक अस्पतालअगाडि प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार मृतकका श्रीमान्, हजुरबुबा–हजुरआमा, नन्द र फुपुसासूलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । पूजाको परिवारले उनले आत्महत्या गरेको दाबी गरेको छ । हत्या भएको माइतीपक्षको आरोप छ ।
पूजाले आत्महत्या गरेको भनेर उनका श्रीमान्ले बयान दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत ११ साउन साँझ ५ बजेतिर पूजा घरभित्र पंखामा साडीको पासो लगाएको अवस्थामा फेला पारेको र तत्कालै नवजीवन अस्पताल लगेको बयान उनले दिएका छन् । ‘पंखामा झुन्डिएको देखेपछि पासो काटेर तुरुन्तै अस्पताल पुर्याएको भनेर मृतकका श्रीमान्ले बयान दिएका छन्,’ प्रहरी निरीक्षक विष्टले भने, ‘पोस्टमार्टमसम्बन्धी रिपोर्ट आएपछि केही खुल्ला ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार अस्पताल पुर्याएको केहीबेरमा चिकित्सकले पूजालाई मृत घोषणा गरेका थिए । अस्पतालमा मृत्यु भएपछि मात्र घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । यहाँ फरेन्सिकविज्ञ नभएकाले शवको भेरी अस्पताल नेपालगन्जमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका– १, हात्तीतलाकी पूजाको धनगढी उत्तरबेहडीका भरतसँग गत १७ मंसिरमा विवाह भएको र विवाहअघि उनीहरू प्रेममा रहेको आफन्तले बताएका छन् । पूजाकी आमा पार्वतीले न्यायका लागि आफू लडिरहेको बताइन् ।