सुनकोशीमा जिप खस्दा तीनजना बेपत्ता, दुईजनाको पहिचान खुल्यो

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

सुनकोशी नदीमा जिप खस्दा तीनजना बेपत्ता भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका– २, नवलपुर–सिन्धुली खण्डमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा दुर्घटना भएको स्थानीयवासीले बताएका छन्।

सोमबार बिहान साढे ११ बजेको समयमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले प्रदेश ३–०१–०१४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो।

उक्त कार मध्यपहाडी लोकमार्ग निर्माण तथा मर्मत गरिरहेको ठेकेदार कम्पनीको हो। सडकछेउमा रोकेर राखिएको कारलाई बसले ठक्कर दिएको उक्त सडकका सुपरभाइजर दीनानाथ न्यौपानेले बताए।

कारमा ठेकेदार जुगल गाउँपालिका– ७, सिन्धुपाल्चोकका ३९ वर्षीय दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १, डुड्भञ्ज्याङका गणेश थापा र नाम वतन नखुलेका एकजना हेल्पर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर खोजी कार्य गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको प्रहरीले बताएको छ।

सुझावित समाचार