इन्फान्टिनोको पद धरापमा

फिफाको सेयर बिक्री विवादका कारण फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउने योजनामा युरोपियन राष्ट्रहरू लागेका छन्

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

गत मंगलबारसम्म फिफा अध्यक्ष जियानी इन्फान्टिनो शक्तिशाली अवस्थामा थिए । इन्फान्टिनोले कसैसँग सल्लाह नगरी फिफाका प्रतियोगिताहरूको सेयर (हिस्सा) निजी लगानीकर्ता कम्पनीलाई बेच्ने योजना बनाएका थिए । उनले यसबाट फिफासँगै फुटबल संघहरू लाभान्वित हुने दाबी गरेका थिए । यस निर्णयका कारण उनको पद धरापमा परेको छ । 

युरोपेली फुटबल महासंघ (युइएफए)ले यस निर्णयको विरोधमा फिफाले आयोजना गर्ने विश्वकपलगायत अन्य अन्तर्राष्ट्रिय सबै प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दियो । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ पाउँदा इन्फान्टिनोले आफू सुरक्षित रहेको महसुस गरिरहेका छन् । दुई साताअघि अमेरिका, क्यानडा र मेक्सिकोले सफलतापूर्वक विश्वकप आयोजना गरेपछि ट्रम्पले इन्फान्टिनोको प्रशंसा गरेका थिए । विश्वकै शक्तिशाली व्यक्ति आफ्नो साथमा रहँदा अध्यक्ष सुरक्षित रहने इन्फान्टिनोको विश्वास छ । 

यतिवेला युरोपियन राष्ट्रहरूले भने उनलाई हटाउने मौका पाएका छन् । इन्फान्टिनो फिफा अध्यक्ष भएदेखि नै युरोपियन फुटबल राष्ट्र उनका कट्टर विरोधका रूपमा रहँदै आएका छन् । युरोपेली फुटबल निकायले इन्फान्टिनोलाई पदबाट हटाउने उचित मौका पाएको छ । चौतर्फी विवादपछि इन्फान्टिनोले यस विवादित योजनाबाट पछि हट्ने जनाएका छन् । तर, युरोप भने उनलाई विश्वास गर्न तयार छैन । यसैबिच इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरो र चिफ अपरेटिङ अफिसर केभिन लामोरले राजीनामा दिएका छन् । यसले पनि उनको संकट बढेको बिबिसीले जनाएको छ ।

 पदबाट हटाउन सकिने आधार
सन् २०१५ मा तत्कालीन अध्यक्ष सेप ब्लाटर भ्रष्टाचारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । लामो समयसम्म अध्यक्षमै बसेका ब्लाटरले आफू विवादबिच फिफा बस्न उचित नभएको जनाउँदै राजीनामा दिँदै नयाँ अध्यक्षलाई बाटो खुला पारे । अहिले सेयर बिक्री गर्ने विषयको विवाद माथिल्लो स्तरमा पुगेपछि धेरैले इन्फान्टिनोले राजीनामा दिएर बाटो प्रशस्त पार्नुपर्ने सल्लाह दिएका छन् ।

इन्फान्टिनो भने आगामी मार्चमा हुने निर्वाचनसम्म बस्ने अडानमा छन् । फिफाका ३७ मध्ये १९ सदस्यले माग गरे आकस्मिक बैठक बस्ने प्रावधान छ । त्यसवेला इन्फान्टिनोलाई राजीनामा दिन दबाब दिन सकिन्छ । फिफामा २११ सदस्यराष्ट्र छन् । जसमध्ये ४३ राष्ट्रले लिखित माग गरेमा विशेष साधारणसभा बोलाउनुपर्छ । यस्तो अवस्थामा उनलाई हटाउन १०६ भोट आवश्यक पर्छ । युरोपसँग मात्रै ५५ भोट छ ।

अफ्रिका, दक्षिण अमेरिका र ओसिएनाले अहिलेसम्म इन्फान्टिनोको पछिल्लो निर्णयको विरोध गर्न सकेका छैनन् । फिफामा युइएफएमा ५५, अफ्रिका ५४, कोन्काकाफ ३५, ओसिएना ११ र कोनमेबोलमा १० राष्ट्र आबद्ध छन् । अहिले १३६ राष्ट्रले उनको प्रस्तावको विरोध गरेका छन् । सधैँ फिफाको नजिक रहेको एसिया भने यसपटक विरोधमा उत्रिएको छ । यसमा कतारले पनि विरोध जनाएको छ । कतार फुटबल संघका अध्यक्ष इब्राहिम खल खालिफाले पनि इन्फान्टिनोको विरोध गरेका छन् । 

अध्यक्षमा भिक्टरको तयारी 
विवाद बढिरहँदा अध्यक्ष पदमा सबैभन्दा दावबेदार व्यक्ति भिक्टर मोनटाग्लियानी हुन् । उत्तर र मध्य अमेरिकी फुटबल महासंघले भिक्टर फिफा अध्यक्षका रूपमा प्रमुख दाबेदारका रूपमा अगाडि बढाइसकेका छन् । सन् २०२६ को फिफा विश्वकप तयारीमा उनको ठुलो योगदान थियो । भिक्टरको राम्रो पक्ष भनेको उनलाई धेरै भाषाको ज्ञान छ । जसकारण उनी सहज रूपमा अंग्रेजीबाहेक अन्य भाषा बोल्ने सदस्यहरूसँग सहजै सहकार्य गर्न सक्छन् । फिफामा उनलार्ई सुधारवादी नेताका रूपमा लिने गरिएको छ । रमाइलो पक्ष के छ भने २३औँ संस्करणको विश्वकपमा उनी इन्फान्टिनोको विश्वास पात्र थिए । तर, विश्वकपको सफल आयोजनापछि उत्तर र मध्य अमेरिकाले उनलाई भावी अध्यक्ष बनाउने खुलेर योजना बनाएका छन् ।

सुझावित समाचार