जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा गत बिहीबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्यु आइतबार साँझ ७ बजेदेखि हटाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि कर्फ्यु हटाएको जानकारी दिएका हुन्।
जिल्लाको पछिल्लो सुरक्षा स्थिति विश्लेषणको आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम नगरपालिका क्षेत्रभित्र लगाइएको कर्फ्यु हटाइएको सूचनामा उल्लेख छ।
जिल्ला प्रशासनले गत बिहीबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्युको तेस्रो दिन शनिबार अपराह्न ३ बजेदेखि दुई घण्टा र आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि स्थानीय सुरक्षा अवस्थाको विश्लेषण र आमसर्वसाधारणले दैनिक उपभोग्य सामग्री व्यवस्थापन गर्न कर्फ्यु खुकुलो बनाएको थियो।
स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु घोषणा गरेलगत्तै गोलबजार ४ क्याम्पस चोकनजिक भएको प्रदर्शनमा औरही गाउँपालिका– २, तुलसीपुरका करिब १७ वर्षीय गणेश यादवको मृत्यु भएपछि विध्वंसात्मक प्रदर्शन भएको थियो।
प्रदर्शनको क्रममा एबी मलसहित एक दर्जन निजी घर, पसल, २० थान मोटरसाइकल, एउटा टेम्पोमा आगजनी भएको थियो। प्रदर्शनकारीले हानेको ढुंगा लागेर २२ सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएपछि चोक, बजार क्षेत्रमा ठुलो संख्यामा नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको थियो।