काठमाडौंमा शृंखलाबद्ध गहना लुटपाट गर्ने गिरोहका पाँचजना पक्राउ

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

महिला तथा बृद्धाहरूलाई निशाना बनाई शृंखलाबद्ध रूपमा सुनका गरगहना लुटपाट र मोटरसाइकल चोरीमा संलग्न एक गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंकाे टोलीले काठमाडौंका विभिन्न ठाउँबाट कर्मा समूहका पाँचजनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गिरोहका नाइके सिन्धुपाल्चोकको मेलम्ची– ४ घर भई काठमाडौंको बौद्ध बस्ने ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेको भुम्लु– ९ देउरालीका ३६ वर्षीय मनोज तामाङ, पनौती– ९ बस्ने ३० वर्षीय पासाङ घिसिङ र धुलिखेल– १० बस्ने ३० वर्षकै प्रतिमान गोले तथा कास्की सारङकोट घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय आले गुरुङलाई पक्राउ गरेको हो।

शनिबार बेलुकी अन्दाजी साढे १० बजे काठमाडौंको बुढानीलकण्ठ– १३, चुनिखेल गाम्चास्थित पानी ट्यांकीनजिकै प्रहरी टोलीमाथि धारिलो हतियार खुकुरी प्रहारको प्रयास गरी मोटरसाइकलमा भाग्न खोज्दा घुँडामुनि एक राउन्ड गोली प्रहार गरेको थियो।

उनीहरूको साथबाट चोरीमा प्रयोग भएको मोटरसाइकल, खुकुरी एक थान, मोटरसाइकल चोरी गर्न प्रयोग हुने टि–लक मास्टर कीलगायतका औजार, मोटरसाइकलका नम्बर प्लेट ५ थान बरामद भएको छ। उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा चोरी तथा डाँकासम्बन्धी कसुरमा कर्मा तामाङको ९ वटा, पासाङ घिसिङको ४ वटा र प्रतिमान गोलेको ३ वटा मुद्दा दर्ता भएको पाइएको छ। साथै, कर्मा गत भाद्र २४ गतेको घटनामा प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट र प्रतिमान नक्खु कारागारबाट फरार भएको देखिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार