विराटनगरमा मन्दिर र मस्जिद फैलाउँदै छन् धार्मिक सदभाव

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्ज बजारमा आइतबार साँझ धार्मिक कार्यक्रमका क्रममा सुरु भएको विवादले दुईजनाको ज्यान गयो । दर्जनौँ घाइते भए । सोमबार र मंगलबार दिनरात कर्फ्यु र निषेधाज्ञा लाग्यो । प्रशासनले सबै पक्षलाई संयम अपनाउन अपिल गरिरहेको छ । तर, यस्तो संवेदनशील समयमा पनि विराटनगरको मुटु बुधहाट चोकमा सँगसँगै रहेका हनुमान मन्दिर र अन्जुमन इस्लामियाँ जामा मस्जिदले धार्मिक एकताको सन्देश दिइरहेका छन् ।

बुधहाट चोकमा रहेका हनुमान मन्दिर र सँगै रहेको अन्जुमन इस्लामियाँ मस्जिद वर्षौँ पुराना हुन् । एउटै चोकमा सँगैसँगै रहेका हिन्दु र मुस्लिम फरक–फरक धर्म सम्प्रदायको भएर पनि दुवै आस्थाका केन्द्रहरूले कहिल्यै एकआपसमा घृणा फैलाएका छैनन् । बरु सबैको धार्मिक चाडपर्व र गतिविधिमा सहयोग गर्दै आएका छन् ।

बुधहाट चोकको पश्चिमतर्फ एउटै सडकको किनारमा पुरानो हनुमान मन्दिर छ । यसकै २० मिटरपछाडि अन्जुमन इस्लामियाँ जामा मस्जिद उभिएको छ । हनुमान मन्दिरमा दैनिक घन्टी बजाएर सयौँ भक्तजनले दिनभरि पूजाआजा र भजनकीर्तन गर्छन् । सँगै रहेको मस्जिदमा दैनिक पाँचपटक नमाज पढनेहरूको घुइँचो हुन्छ । शनिबार र मंगलबार हनुमान मन्दिरमा दर्शन गरेर पूजाआजा गर्न सयौँको भिड हुन्छ । शुक्रबार अन्जुमन मस्जिदमा दुई–तीन हजारजना नमाज पढ्न आउँछन् । दुवै धार्मिक संस्थाले आफ्नो छानामा माइक लगाएर बजाउने गरेका छन् ।

दुवै धार्मिक संस्थामा आउन–जान कसैलाई कुनै रोकटोक छैन । मन्दिर र मस्जिदसँगै रहेका व्यापारिक पसल र होटेलमा हिन्दु–मुस्लिम समुदायका मानिसहरू सँगै खानपान र किनमेल पनि गर्ने गर्छन् । त्यहाँ पण्डितजीको मिठाई पसल र हाजी मौलानाहरूको चिया नास्ता पसल पनि सँगसँगै छ । विराटनगरको पुरानो व्यापारिक केन्द्र बुधहाट चोकमा हिन्दु, मुस्लिम, मारवाडी, मधेशी, पहाडी, थारू, राजवंशी, नेवार सबै समुदायका व्यापारीले दशकौँदेखि सँगै व्यापार गर्दै आएका छन् । यहाँ एउटै पसलमा चिया पिउने, एउटै होटेलमा खाना खाने, एक–अर्काको विवाह र दुःख–सुखमा सहभागी हुने संस्कृतिले यो चोकलाई धार्मिकभन्दा पनि मानवीय सम्बन्धको केन्द्र बनाएको छ ।

अन्जुमन इस्लामिया मस्जिदका सचिव तनिवर कुरेसी आफूले जन्मेदेखि नै मन्दिर र मस्जिद सँगसँगै देखेको र कहिल्यै धार्मिक एकतामा बाधा नपरेको बताउँछन् । भन्छन्, ‘म ३६ वर्षको भएँ, तर कहिल्यै पनि हाम्रो सद्भाव बिग्रिएको थाहा छैन । बरु एउटै चोकमा रहेका हामीहरू धार्मिक स्थल मात्र होइन, साझा पहिचान, सहिष्णुता र एकताको उदाहरण बनेका छौँ ।’

स्थानीयका अनुसार बुधबार हाट लाग्ने चोकको चौतारा स्थलकै रूपमा रहँदा ०१० अगाडि नै सँगै स्थापना भएका हुन् मन्दिर र मस्जिद । ‘सँगसँगै रहेका हनुमानको मन्दिर र मस्जिद विराटनगरमा धार्मिक साहिष्णुताको उदाहरण बनेका छन्,’ स्थानीय अनन्त शर्मा भन्छन्, ‘वर्षौँ होइन, दशकौँदेखि यी दुई धार्मिक स्थल एक–अर्काका छिमेकी मात्र होइनन्, धार्मिक सहअस्तित्वका जीवित प्रतीक बनेका छन् ।’

सुझावित समाचार