उदयपुरको कटारी नगरपालिका– ३, हडैयामा पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उपेन्द्र खरेलका अनुसार मृत्यु हुने तीनैजना दुई दाजुभाइका छोराहरू हुन्।
मृत्यु हुनेमा जितलाल दनुवारका छाेरा ११ वर्षीय सुमितकुमार दनुवार र सात वर्षीय सुगमकुमार दनुवार तथा उनका भाइ अतिल दनुवारका आठ वर्षीय छाेरा आदित्यकुमार दनुवार रहेका छन् । डिएसपी खरेलले भने, ‘मृत्यु भएका तीनै बालक एकै घरका हुन् । उनीहरू पौडी खेल्ने क्रममा डुबेका हुन् ।’
प्रहरीका अनुसार तीनै बालक हडिया खोलामा पानी जमेर बनेको खाल्डोमा पौडी खेल्न गएका वेला डुबेका थिए । स्थानीयवासीले उनीहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पुर्याएका थिए । तर, चिकित्सकले तीनैजनालाई मृत घोषणा गरेका थिए ।
हाल तीनैजना बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको र घटानको थप अनुसन्धान सुरु भएको डिएसपी खरेलले जानकारी दिए ।