सिराहाको गोलबजारमा गोली चल्यो, एकजनाको मृत्यु

लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

सिराहाको गोलबजार– ४, क्याम्पस चोकनजिक बिहीबार दिउँसो झडप हुँदा गोली लागेर एक किशोरको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।

स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि लगाएको कर्फ्युकै समयमा क्याम्पस चोकनजिक झडप हुँदा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका– २, तुलसीपुरका करिब १७ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

झडपको क्रममा धनुषा घर भएका करिब १९ वर्षीय सुवास ठाकुर घाइते भएका छन्। उनलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्थानीय प्रहरीले जनाएको छ। कर्फ्यु सुरु हुँदैगर्दा गोली लागेर एकजनाको मृत्यु र अर्का एकजना गम्भीर घाइते भएपछि गोलबजारको अवस्था अहिले तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रको एबी मलसहितका पसलमा आगजनी गर्नुका साथै पार्किङ गरी राखिएका मोटरसाइकलसमेत आगजनी गरेपछि ठुलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणको आधारमा आन्दोलन वा हुलदंगा भई शान्तिसुरक्षा भंग हुने देखिएको भन्दै बिहीबार दिउँसो २ बजेदेखि सिराहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। 

लहानमा पनि अनिश्चितकालीन कर्फ्यु
जिल्ला प्रशासन कार्यालयले पछिल्लो सुरक्षा स्थितिको विश्लेषणको आधारमा जिल्लाको मुख्य व्यापारिक केन्द्र लहानमा पनि अपराह्न ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। पूर्व–पश्चिम लोकमार्गको पूर्वतर्फ लहान बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटेलदेखि पश्चिम)सम्म, दक्षिणतर्फ पूर्व–पश्चिम लोकमार्गको पाँच सय मिटर क्षेत्रसम्मको वरिपरिको क्षेत्रमा लागू हुने गरी अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको हो।

कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कोही कसैले आवतजावत गर्न, भेला तथा प्रदर्शन, सभा, बैठक, घेराउ, नाराबाजी नगर्न/नगराउन, कर्फ्यु आदेशको बर्खिलाप हुने गरी कुनै गतिविधि भए/गरेमा, आदेश नमानेमा सुरक्षाकर्मीले चेतावनीसहित गोलीसमेत चलाउन सक्ने सूचनामा उल्लेख छ।

सुझावित समाचार