राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अहबर अन्सारीले धर्म, जात र समुदायका नाममा समाजलाई विभाजन गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले नेपाल ऐतिहासिक रूपमा धार्मिक सहिष्णुता र सामाजिक सदभावको देश भएको उल्लेख गर्दै घृणा फैलाउने अभिव्यक्तिप्रति राज्य गम्भीर हुनुपर्ने बताएका हुन्।
उनले नेपालमा हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियनलगायत सबै धर्म र समुदायका नागरिक मिलेर बसेको उल्लेख गर्दै धार्मिक नाराको दुरुपयोग गरी एक समुदायलाई अर्को समुदायविरुद्ध उक्साउने गतिविधि रोक्नुपर्ने बताए।
सांसद अन्सारीले संसारभर समुदायबिच घृणा फैलाइँदा मानव अधिकारमाथि गम्भीर असर परेको उदाहरण दिँदै मधेशलाई पनि द्वन्द्व र साम्प्रदायिक तनावतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाए। उनले राजनीतिक स्वार्थका लागि धार्मिक तथा जातीय विभाजनको वातावरण सिर्जना गर्न खोज्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।
साम्प्रदायिक हिंसा गोली चलाएर मात्र सुरु नहुने भन्दै उनले घृणात्मक अभिव्यक्ति, सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा सार्वजनिक अभिव्यक्तिबाट त्यसको सुरुवात हुने बताए। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न उनले सरकारसँग माग गरे। रोहिंग्या वा बंगलादेशीको विषय उठाएर समाजमा डर र त्रासको वातावरण सिर्जना गर्ने प्रयास पनि स्वीकार्य नहुने उनको भनाइ थियो। राज्यले यस्ता विषयमा निष्पक्ष र सूक्ष्म अनुसन्धान गरी तथ्यका आधारमा आवश्यक कदम चाल्नुपर्ने उनले बताए।
नेपालमा धार्मिक सहिष्णुता ऐतिहासिक विरासत भएको उल्लेख गर्दै उनले सबै नेपाली एकजुट भएर सामाजिक सदभाव कायम राख्नुपर्नेमा जोड दिए। साथै, देशलाई धर्म वा जातका आधारमा विभाजन गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग थियो।