एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL)मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु गरेको छ। यस सेवासँगै अब बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड स्वीकार गर्न सक्ने भएको छ। साथै, डिस्कभर नेटवर्कअन्तर्गतका रुपैयाँलगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटिएम तथा पिओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ।
बैंकका अनुसार यस पहलले राष्ट्रिय कार्ड प्रणालीको प्रवर्द्धन गर्नुका साथै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालपे कार्ड राष्ट्रिय पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय कार्ड स्किम हो। यो कार्ड नेपालमा राष्ट्रिय पेमेन्ट स्विचमार्फत तथा अन्तर्राष्ट्रिय रूपमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिन्छ। नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशका एटिएम र पिओएस टर्मिनलमा प्रयोग गर्न सकिने व्यवस्था भएको छ।
हालसम्म नेपालपे कार्डका लागि ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। तीमध्ये सातवटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गरिसकेका छन् भने अन्य ११ वटा संस्थाले कार्ड एक्वायरिङ सेवा सञ्चालन गरिरहेका छन्। आगामी दिनमा यस सेवाको विस्तार अझै बढ्ने अपेक्षा गरिएको छ।
एनआइसी एसिया बैंकले हाल देशभर लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले पछिल्लो समय डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा निरन्तर सुधार गरिरहेको जनाएको छ। हाल बैंकका देशभर ३६६ शाखा, १०३ विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ सेवा र ६०४ एटिएम सञ्चालनमा रहेका छन्।