हिमालय एयरलाइन्सले उमेरमैत्री हवाई यात्रा संवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय ओएचसिएचआर र इन्टरनेसनल एभिएसन इनोभेसन अर्गनाइजेसनका विशिष्ट प्रतिनिधिमण्डलको सहभागिता थियो ।
प्रतिनिधिमण्डलमा ओएचसिएचआरअन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सी, आइएआइओ–नार्दोका युएनओजी तथा युरोपेली संघसम्बन्धी निर्देशक चाइ सुआई तथा संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत चेन केजियान सहभागी थिए ।
छलफलका क्रममा ज्येष्ठ यात्रुलाई यात्रा गर्दा पर्न सक्ने कठिनाइ हटाउने र उनीहरूलाई कसरी थप सहज सेवा दिन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो । हिमालय एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि हाल गर्दै आएका काम र आगामी योजनाबारे जानकारी गराएको थियो । अन्तर्क्रियामा ज्येष्ठ यात्रुहरूको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै हवाई यात्रालाई थप सहज, पहुँचयोग्य तथा समावेशी बनाउन अवलम्बन गर्न सकिने उपायहरूबारे समेत छलफल भएको बताइएको छ ।
अन्तर्क्रियाले दुवै पक्षलाई आफ्ना अनुभव तथा दृष्टिकोण आदानप्रदान गर्ने अवसरका साथै मानव अधिकारमा आधारित, उमेरमैत्री तथा पहुँचयोग्य अभ्यासहरूले ज्येष्ठ यात्रुहरूलाई थप सम्मान, आत्मविश्वास र स्वतन्त्रताका साथ यात्रा गर्न सक्ने वातावरण निर्माणमा पुर्याउने योगदानबारे छलफल भएको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हामी उमेरका आधारमा कसैलाई पनि भेदभाव नगरी हरेक यात्रुले सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ । ज्येष्ठ नागरिकका आवश्यकताअनुरूप उड्डयन क्षेत्रलाई थप समावेशी, पहुँचयोग्य र उत्तरदायी बनाउने विषयमा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसंग संवाद गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो ।’