नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ मा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। उट्रेचमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सले सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै ९ विकेट गुमाएर २२५ रनको योगफल बनायो। 

सुरुमा लगातार विकेट गुमाएको नेदरल्यान्ड्सको लागि कप्तान स्कट एडवार्ड र नोह क्रोइसले अर्धशतक बनाउँदै टिमलाई ठूलो स्कोरतर्फ बढाएका थिए। करण केसी लगातार दोस्रो खेलमा पनि हाबी भएपछि १७.१ ओभरसम्म नेदरल्यान्ड्सले ४ विकेट गुमाउँदा मात्र ५६ रन बनाएको थियो।

त्यसपछि कप्तान स्कट र क्रोइसले सतकीय साझेदारी गर्दै टिमलाई सम्मानजनक अवस्थामा पुर्याएका हुन्। दुई खेलाडीबीच १४८ बलमा ११५ रनको बलियो साझेदारी भयो। बाँकी खेलाडीले भने ठूलो साझेदारी गर्न सकेनन्। 

कुशल भुर्तेलबाट रन आउट हुनुअघि क्रोइसले ७० रन बनाए। उनले ९३ बलमा तीन चौका हिर्काए। कप्तान स्कटले ५७ रन बनाए। दीपेन्द्रसिंह ऐरीको बलमा इशान पाण्डेबाट क्याचआउट हुनुअघि उनले ९१ बलमा तीन चौका हिर्काएका थिए।

यसअघि ओपनर केड्रिक डे लिंगेलाई करण केसीले पहिलो बलमै विकेटकिपर आसिफ शेखलबाट रोयल डक गराएका थिए। अर्का ओपनर म्याक्स ओ डावड पनि १२ रन बनाउँदा हेमन्त धामीको बलमा भिम सार्कीबाट क्याच भए। हेमन्तले दुई वर्षपछि टिममा अवसर पाएका हुन्। त्यसबाहेक लोगन भान बिकले २७ बलमा २७ रन बनाए।

नेपालको लागि करणले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा दुई मेडनसहित ३० रन खर्चिए। करणले पछिल्लो दुई खेलमा ९ विकेट लिएका छन्। आन दीपेन्द्रले दुई विकेट लिए। यसबाहेक हेमन्त धामी र ललित राजवंशीले समान एक विकेट लिए।

नेदरल्यान्ड्स भ्रमणको अन्तिम खेलमा प्रशिक्षक स्टुआर्ट लले दुई खेलाडीलाई विश्राम दिएका छन्। सोमपाल कामी र सन्दीप लामिछानेको स्थानमा हेमन्त र ललितले अवसर पाएका हुन्।

सुझावित समाचार