कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (निम्बज)बिच सहकार्य सम्झौता भएको छ। उक्त सम्झौतासँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (इ–सिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आइडिपी)सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ।
यस सहकार्यपछि कुमारी बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा इ–सिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्। विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यावसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।
इ–सिम सेवाले ग्राहकलाई विदेश पुगेपछि स्थानीय सिमकार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्षम बनाउनेछ। त्यसैगरी, आइडिपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो तथा व्यवस्थित बनाउँदै ग्राहकहरूलाई आवश्यक सेवा डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग पुर्याउने बताइएको छ।
ग्राहकहरूले इ–सिम तथा आइडिपी सेवाको शुल्क कुमारी बैंक मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमा नै भुक्तानी गर्न सक्छन्। यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने बैंकको अपेक्षा छ।