अख्तियारद्वारा सडक डिभिजन भक्तपुरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार चौधरीले ०६५ सालदेखि ०८२ सालसम्मको अवधिमा स्रोत नखुलेको  दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसाबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ।

अनुसन्धानमा चौधरी र उनको परिवारको वैधानिक आय दुई करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा रहेकोमा खर्च तथा लगानी चार करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा देखिएको अख्तियारले जनाएको छ।

आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी सम्पत्ति जफतको माग गरेको छ। उनकी श्रीमती अर्पना कुमारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।

सुझावित समाचार