फुटबलपछि विश्वकप क्रिकेटमा पनि सहभागी संख्या थपिँदै

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण
  • आइसिसीले सन् २०३० को टी–२० विश्वकपमा २४ र २०३२ मा ३२ टोली पुर्याउने महत्वाकांक्षी योजना अगाडि बढाएको छ

फिफाले २३औँ संस्करणको फुटबलको विश्वकपमा ४८ राष्ट्रबिच प्रतिस्पर्धा गरायो । सहभागी संख्या बढ्दा विश्वकपमा दर्शकले धेरै राष्ट्रहरूको खेल मजा लिएका थिए । फुटबलमा जस्तै क्रिकेटमा पनि विश्वकपमा सहभागी संख्या बढाउने योजना अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अगाडि बढाएको छ । आइसिसीले सहभागी संख्या टी–२० फर्म्याटको विश्वकपमा बढाउने जनाएको छ । यसलाई स्वयं आइसिसीले पनि आफ्नो महत्वाकांक्षी योजना रहेको जनाएको छ । आइसिसीका अनुसार सन् २०३० देखि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या बढाएर २४ हुनेछ । 

यसैगरी, आइसिसीले सन् २०३२ को संस्करणमा ३२ टोलीबिच प्रतियोगिता हुने उल्लेख गरेको छ । गत मार्चमा भारत र श्रीलंकाले आयोजना गरेको विश्वकपमा २० राष्ट्रले भाग लिएका थिए । सहभागी संख्या बढ्दा एसोसिएट राष्ट्रहरूलाई बढी फाइदा पुग्ने आइसिसीको भनाइ छ । ‘टी–२० फर्म्याटमा टोली बढ्दा एसोसिएट राष्ट्रलाई विश्वकपमा नियमित उपस्थिति जनाउने अवसर पाउनेछ । उनीहरूले यस किसिमको प्रतियोगितामा नियमित भाग लिँदा सुनौलो अवसर प्राप्त हुनेछन्,’ आइसिसीले भनेको छ । 

टी–२० विश्वकपमा आइसिसीले सहभागी संख्या बढाउँदा एकदिवसीयमा भने धाउने निर्णय गरेको छ । आइसिसीको पछिल्लो कार्यकारी समितिको बैठकले एकदिवसीय विश्वकपमा सहभागी टोलीको संख्या १४ बाट घटाएर १२ बनाउने निर्णय गरेको छ । बैठकमा सहभागीहरूले टी–२० विश्वकपका लागि भएको निर्णयको स्वागत गर्दा एकदिवसीयमा टोली घटाउने निर्णयको असन्तुष्टिसँगै आलोचना गरेका छन् ।

द टेलिग्राफले जनाएकोअनुसार इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डमा हुने टी–२० विश्वकपमा २४ टोलीबिच प्रतियोगिता हुने पक्काजस्तै छ । आइसिसीले सन् २०३२ को विश्वकपको आयोजक राष्ट्र तोकेको छैन । टी–२० को पछिल्लो संस्करणमा एसोसिएट राष्ट्रहरूको संख्या बढेको थियो । उनीहरूले बलिया राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थिए । जसमध्ये नेपाल र इंग्ल्यान्डबिचको खेल सर्वाधिक नाटकीय र रोमाञ्चक रूपमा लिइएको थियो । दुईपटकको विजेता इंग्ल्यान्डसँग मुम्बईको वांखडे रंगशालामा भएको खेलमा नेपाल केवल चार रनले पराजित भएको थियो । 

‘भारत र श्रीलंकामा भएको टी–२० विश्वकपमा एसोसिएट राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धात्मकले प्रतियोगिता विस्तारको पक्षमा बलियो आधार बन्यो,’ आईसिसीले भनेको छ । सो संस्करणमा जिम्बाबेले अस्ट्रेलियालाई पाखा लगाएको थियो । यसैगरी जिम्बावेले आयोजक श्रीलंकालाई हराउँदै नकआउट चरणमा स्थान बनाएको थिया । समूह चरणमा नवप्रवेशी इटालीले नेपालमाथि सनसनी जित निकालेको थियो ।

आगामी संस्करणमा सहभागी संख्या बढ्दा मलेसिया, स्पेन, कुवेत, कतार, जर्सी, बहराइन, बर्मुडा र साउदी अरेबियाजस्ता टोली पनि विश्वकपमा पुग्नेछन् । एसोसिएटका बलिया टोली नेपाल, इटाली, युगान्डा, पपुवा न्युगिनी, हङकङ, अमेरिका र क्यानडाले नियमित उपस्थिति जनाउने आधार बनाउनेछन् ।

एकदिवसीय विश्वकपमा विरोध

आइसिसीले एकदिवसीय विश्वकपलाई प्रतिस्पर्धात्मक बनाउने संख्या घटाउने योजना भएको जनाएको छ । बैठकमा बहुमत संख्यामा एकदिवसीय विश्वकपमा सहभागी टोली घटाउने निर्णय भइसकेको छ । संख्या १४ बाट १२ संख्यामा सीमित भएको एकदिवसीय विश्वकपमा एसोसिएटसँगै वरीयता प्राप्त राष्ट्रले समेत प्रतियोगिता खेल्न वञ्चित हुने बैठकमा सहभागी सदस्यहरूले जनाएको द टेलिग्राफले ले जनाएको छ । ‘एसोसिएट राष्ट्रहरूको अवसर झन् साँघुरिने अवस्था आएको छ । उनीहरूलाई टी–२० मा जस्तो ५० ओभरको विश्वकपमा समेत मौका दिनुपर्छ,’ बैठकमा सहभागी एक सदस्यले द टेलिग्राफलाई भने, ‘यसमा हामीले आइसिसीको निर्णयप्रति आलोचना गरेका छौँ ।’ नयाँ एकदिवसीय विश्वकप फर्म्याटअनुसार तल्लो वरीयताका तीन राष्ट्रले मुख्य प्रतियोगितामा सिधै स्थान नपाई ‘प्ले–इन’ प्रतियोगिता खेल्नुपर्नेछ । त्यसपछि मात्र अन्तिम टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

यसैबिच विश्व क्रिकेटर्स एसोसिएसन (डब्लुसिए)का प्रमुख कार्यकारी अधिकृत टम मोफाटले आइसिसीको निर्णयलाई क्रिकेट विस्तारको लक्ष्यसँग मेल नखाने दाबी गरेका छन् । ‘टी–२० विश्वकपका लागि भएका निर्णयको हामी स्वागत गछौँ, तर एकदिवसीय विश्वकपको विरोध गरेका छौँ,’ मोफाटले भने, ‘आइसिसी स्वयं विश्वव्यापी क्रिकेट विकासको तर्क गरिरहेको छ, तर विश्वकपमा अवसर घटाउने निर्णय लगत हो ।’ यसैगरी, स्कटल्यान्डका कप्तान रिची बेरिङटनले आइसिसीले खेलाडीसँग परामर्श नगरी निर्णय गरेको बताए । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले पनि विश्वकप छनोट गर्नु आफैँमा ठुलो उपलब्धि भए पनि त्यसको मूल्य नै घटाउने निर्णय निराशाजनक रहेको बताएका छन् ।

अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुने ओलम्पिक खेलकुद प्रतियोगितामा समेत क्रिकेट विधा समावेश भइसकेको छ । १२८ वर्षपछि ओलम्पिकमा क्रिकेट खेल फर्किएको हो । तर, आइसिसीको एकदिवसीय खेलमा टोली संख्या घटाउदा खेल र खेलाडीलाई निराशाजनक बनाएको द टेलिग्राफले जनाएको छ ।

सन् २०२८ को संस्करणमा नयाँ फर्म्याट
आइसिसीको बैठकले आगामी टी–२० विश्वकपमा नयाँ फर्म्याटमा प्रतिस्पर्धा गराउने निर्णय गरेको छ । अघिल्लो संस्करणसम्म २० टोलीलाई चार समूहमा विभाजन गरेको थियो । शीर्ष दुई सुपर ८ मा प्रवेश गरेका थिए । अव अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा आइसिसीले पाँच समूहमा चार टोली रहने जनाएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर १० मा पुग्नेछन् । यस चरणका शीर्ष चार टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । टी–२० विश्वकपमा २४ संख्या हुँदा ६ समूहमा समान चार टोली रहनेछन् । त्यसपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् । सहभागी संख्या बढ्दा युरोप र अफ्रिकाबाट पनि नयाँ राष्ट्र छनोट हुनेछन् ।

– एजेन्सीको सहयोगमा

सुझावित समाचार