मुग्लिन–नारायणगढ सडकमा गएको सुक्खा पहिरो हटाइयो, यातायात सञ्चालनमा

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिननजिक खहरे खोलामा मंगलबार दिउँसो गएको सुक्खा पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो करिब ३ बजे खहरे खोलानजिक सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । तत्काल डोजर परिचालन गरी पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सवारी आवागमन पुनः सञ्चालन गरिएको हो ।

पहिरो हटाइए पनि सडकमा ढुंगा खस्ने जोखिम कायमै रहेकाले सवारीचालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । सडक डिभिजनले सबै सवारीचालकलाई लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी चलाउन तथा अनावश्यक ओभरटेक नगर्न अनुरोध गरेको छ ।

वर्षायामका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो खस्ने क्रम जारी रहेकाले यात्रु तथा चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि सडक डिभिजनले आग्रह गरेको छ ।
 

सुझावित समाचार