नेपालमा पहिलोपटक विद्यालय तहमा राष्ट्रिय विद्यालय नवप्रवर्तन लिग सञ्चालन हुने भएको छ। दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिले आयोजना गर्न लागेको यस प्रतियोगितामा देशभरका कक्षा तीनदेखि १० सम्मका करिब १० हजार विद्यार्थी सहभागी हुनेछन्।
प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई रोबोट प्रविधि, वस्तुहरूको इन्टरनेट (आइओटी), कम्प्युटर कार्यक्रम निर्माण, विद्युतीय प्रविधि तथा नवप्रवर्तनसम्बन्धी व्यावहारिक सिकाइसँग जोड्नु रहेको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले जानकारी दिए।
प्रतियोगिताका लागि साउन ११ गतेदेखि भदौ १६ गतेसम्म अनलाइन दर्ता खुला गरिएको छ। इच्छुक विद्यालयले nsil.dursikshya.com मार्फत दर्ता गर्न सक्नेछन्। भदौ महिनाभित्र सहभागी विद्यालयलाई नवप्रवर्तन सामग्री किट उपलब्ध गराइनेछ। त्यसपछि असोज ७ गतेदेखि शिक्षक र विद्यार्थीका लागि तालिम सञ्चालन गरिनेछ।
प्रतियोगिताअन्तर्गत देशका नाै प्रमुख सहरमा मंसिर र पुस महिनामा क्षेत्रीय चरण हुनेछ। त्यसपछि उत्कृष्ट टोलीहरू काठमाडौंमा हुने राष्ट्रिय अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन्। राष्ट्रिय विजेता टोलीहरूले कुल पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता तीन तहमा सञ्चालन हुनेछ। कक्षा तीनदेखि पाँचसम्मका लागि आधार लिग, कक्षा ६ देखि आठसम्मका लागि मध्य लिग र कक्षा नाैदेखि १० सम्मका लागि उच्च लिग हुनेछ। प्रत्येक तहका लागि छुट्टाछुट्टै परियोजना, सामग्री किट र मूल्यांकन प्रणाली तयार गरिएको आयोजकले जनाएको छ।
विद्यार्थीहरूले समुदायका वास्तविक समस्या समाधान गर्ने तथा दिगो विकास लक्ष्यसँग सम्बन्धित परियोजना तयार गर्नेछन्। सहभागी विद्यालयलाई नवप्रवर्तन सामग्री किट, विद्यार्थी कार्यपुस्तिका, परियोजना मार्गदर्शन तथा शिक्षक र विद्यार्थीका लागि आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराइनेछ।
प्रमुख कार्यकारी अधिकृत पाण्डेले यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई विद्यालय तहमा वैज्ञानिक सोच, नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाको विकास गर्ने राष्ट्रिय अभियान भएको बताए। यसबाट विद्यार्थीलाई भविष्यका वैज्ञानिक, इन्जिनियर, आविष्कारक र उद्यमी बन्न प्रेरणा मिल्ने उनको विश्वास छ।