डिजेबाजा विवादले अशान्त कप्तानगन्ज : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु, प्रहरीसहित २४ घाइते

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण
  • डिआइजीदेखि डिएसपीसम्म हटाएर छानबिन समिति गठन 
  • शान्तिसुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन

डिजेबाजा विवादले निम्तिएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्युपछि अशान्त बनेको सुनसरी कप्तानगन्जमा सामाजिक एकता कायम गर्न सर्वपक्षीय आह्वान भएको छ । जिल्लास्थित सर्वदलीय र सर्वपक्षीय बैठकदेखि राष्ट्रिय मानव अधिकार आयोग र दलका शीर्ष नेताहरूले सामाजिक सद्भाव भड्किन नदिन अपिल गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको छ । त्यस्तै, घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयबाट गठन भएको छानबिन समितिलाई सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले सामाजिक सद्भाव र शान्तिसुरक्षा कायम गर्नका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय भएको बताए । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगले शान्तिसुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले कोशी प्रदेश प्रहरी प्रमुखदेखि सुनसरी सिडिओ र प्रहरी प्रमुखसम्मको सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको छ ।

आइतबार साँझ डिजेबाजा विवादमा देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्ज नयाँबजार क्षेत्रमा झडप निम्तिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज– ४ का युवक ओमप्रकाश मेहताको ज्यान गएको थियो भने २४ घाइते भएका थिए । घाइते हुनेमा नौजना युवा, १० प्रहरी र ५ सशस्त्र प्रहरीका छन् ।

परिस्थिति थप भड्किन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगराका सीमावर्ती बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लंघन र तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन सोमबार अपराह्नबाट नेपाली सेनासहित अतिरिक्त सुरक्षा बल परिचालन भएको छ ।

कप्तानगन्जका युवाहरू डिजेबाजागाजासहित साउने सोमबार बिहानै कोशी ब्यारेजबाट जल ल्याएर स्थानीय शिव मन्दिरमा चढाएर पूजाको तयारीमा थिए । त्यसका लागि उनीहरूले आइतबार साँझ एउटा पिकअप भ्यानमा डिजेबाजासहितको टोली तयार गरेका थिए । ब्यारेजतर्फ बोलबम यात्रा निकाल्नुअघि राति ८ बजेतिर केही युवा मन्दिरमा पूजा गर्न लागेका थिए । केही युवा बाहिर डिजेबाजाको गीतमा नाचगान गर्दै थिए । त्यहीवेला करिब तीन मिनेटको दूरीमा रहेको अर्को बस्तीबाट आएका २०–३० जनाको समूहले ‘हाम्र्रो टोलतिर फर्काएर किन डिजे बजाएर होहल्ला गरेको ?’ भन्दै विवाद गरेका थिए । उनीहरूले डिजेबाजा राखेको गाडीमा तोडफोड प्रयास पनि गरेका थिए । त्यसपछि दुवैतर्फ ठुलो होहल्ला भएको थियो ।

नजिक प्रहरी नहुँदा र सुरक्षाकर्मी आउँदासम्म झडपको अवस्था निम्तिसकेको थियो । केही पसलमा तोडफोड र आगजनीका भइसकेको थियो । मोटरसाइकल पनि जलाइएका थिए । स्थिति उग्र बनेपछि देवानगन्ज इलाका प्रहरी र नजिकै रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बेसक्याम्पबाट आएको टोलीले हवाई फायर गरेर भिडलाई तितरबितर पारेको थियो ।

राति ९ बजेतिर लोडसेडिङ भएपछि गोली चलेको थियो । घटना हुँदा सुनसरीका सिडिओ रहेका सहसचिव वासुदेव घिमिरेले झडपको स्थिति नियन्त्रणमा लिनेक्रममा कसैले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफमा प्रहरीले गोली चलाउनुपरेको बताए । उनले गोली चलाउने आदेश कसले दियो र फिल्डमा कसरी गोली चल्यो भन्नेबारे जानकारी नभएको बताए । ‘पब्लिकबाट गोली चलेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको रहेछ, गोली नेपाल प्रहरीले कि सशस्त्र प्रहरीले चलायो भन्ने जानकारी भइसकेको छैन,’ उनले भने ।

देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले एसपी र सिडिओको आदेशविना गोली चल्न नसक्ने बताए । ‘आदेश नदिईकन तलको प्रहरीले गोली नै चलाउँदैन । यसैले सिडिओ र एसपी नै दोषी छन् । उनीहरूलाई निलम्बन गर्नुपर्छ । भिडलाई नियन्त्रण गर्ने धेरै उपाय थिए । तर, प्रहरीले न त लाठीचार्ज गर्यो न त अश्रुग्यास नै हान्यो । खालि २५ राउन्ड अन्धाधुन्ध गोली हान्यो । यो दुःखद घटना हो । मृतकलाई क्षतिपूर्ति र घाइतेको पूर्ण उपचार हुनुपर्छ,’ उनले भने ।

घटनाको सूचना पाएपछि आइतबार राति नै घटनास्थल पुगेर अवस्था बुझेका र विराटनगरका अस्पतालमा उपचाररत घाइतेको अवस्था बुझेका सुनसरी ३ बाट निर्वाचित रास्वपा सांसद लालविक्रम थापाले प्रहरीले हतारमा अन्धाधुन्ध गोली चलाउँदा घटना भएको बताए । ‘सुरक्षा नेतृत्वलाई तत्काल निलम्बन गरेर मात्र छानबिन अगाडि बढाउनुपर्छ,’ उनले भने ।

दुई दिन शोकबिदा

एक युवाको मृत्यु भएपछि देवानगन्ज गाउँपालिकामा दुई दिन शोकबिदा दिइएको छ । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार गाउँपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाबाहेकका अन्य आवश्यक कार्यालयमा शोकबिदा दिने निर्णय गरिएको बताए ।

आइतबार घटना हुँदा सुनसरी प्रहरी प्रमुख केशवकुमार थेबे बिदामा थिए । उनी चार दिनदेखि बिदामा भएकाले जिल्लाको सुरक्षा कमान्ड डिएसपी चन्द्रबहादुर खड्काले सम्हालेका थिए । त्यस्तै, सशस्त्र प्रहरी सुनसरी– ४ नम्बर गणका गणपति एसपी श्यामकुमार कार्कीसहित केही बेसक्याम्पका कमान्डर पनि गृहमन्त्री सुधन गुरुङको स्थलगत भ्रमणपछि तस्करी विवादमा ३० असारमा छानबिनका लागि हेडक्वार्टर तानिएका थिए । केही दिन अघिदेखि नै कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे पनि बिदामा थिए । डिआइजी घिमिरेको नेतृत्व एसएपी योगेन्द्रसिंह थापाले सम्हालेका थिए ।

डिआइजीदेखि डिएसपीसम्म हटाएर छानबिन समिति गठन 
सुनसरी घटनाबारे गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीको प्रदेश प्रमुखदेखि जिल्ला प्रमुखसम्म हटाएर छानबिन समिति गठन गरेको छ । सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय समितिमा सुरक्षा निकायका प्रतिनिधि छन् । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

गृहले कोशीका डिआइजी विनोद घिमिरेको सरुवा गरी त्यहाँ प्रहरी प्रधान कार्यालयका शेखर खनाललाई खटाएको छ । त्यस्तै, सुनसरीका सिडिओ वासुदेव घिमिरेलाई गृह मन्त्रालयमा तानेर संखुवासभामा कार्यरत सहसचिव ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । नेपाल प्रहरीका एसपी केशव थेबेको स्थानमा एसपी पुष्पराज मल्ललाई खटाइएको गृह मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई सुनसरीमा जिम्मेवारी दिइएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डिएसपी मदन नाथलाई पठाएको छ ।

सुनसरी घटना र आगामी चुनौतीबारे छलफल गर्न सोमबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बसेको थियो । बैठकमा आगामी दिनमा यस्ता घटना नदोहोरिने गरी सुरक्षाकर्मी परिचालन गर्नुपर्ने विषयमा छलफल भएको एक अधिकारीले बताए ।

शान्तिसुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन 
सुनसरी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पनि सूक्ष्म अनुसन्धान थालेको छ । आयोगले सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गर्दै शान्तिसुरक्षालाई मजबुत बनाउन निर्देशन पनि दिएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले अनुसन्धान गरी दोषी पत्ता लगाउन भनेको छ । ‘उक्त घटनापश्चात् सुनसरीमा देखापरेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘साथै, शान्तिपूर्ण रूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन आयोग राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवं सर्वसाधारणलाई अनुरोध गर्दछ ।’ 

सुझावित समाचार