प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै छ । मंगलबार पहिलो दिन आयुक्तहरू र बुधबार दोस्रो दिन प्रमुख आयुक्तमा प्रस्तावित व्यक्तिको सुनुवाइ हुनेछ । संवैधानिक परिषद्ले १९ असारमा प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनुवाइका लागि समितिको बैठक बिहान ११:१५ बजे बोलाइएको छ ।
सिफारिसपछि सुनुवाइ समितिले २६ असारमा उजुरी आह्वान गरेको थियो । सभापति श्रेष्ठका अनुसार समितिमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको छ । पाल्पा तानसेन नगरपालिका– ९ का भेषराज लुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । त्यसैगरी, ललितपुरका उज्ज्वलकृष्ण श्रेष्ठले सुनुवाइ प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएका छन् ।
सभापति श्रेष्ठले १३ साउनमा सुरुमा उजुरीकर्तासँग छलफल गरिने र त्यसपछि प्रमुख आयुक्तमा सिफारिस कार्कीको संसदीय सुनुवाइ हुने बताए । उनका अनुसार प्रस्तावित तीनैजनाले आफ्नो कार्ययोजना सुनुवाइ समितिमा बुझाइसकेका छन् । सुनुवाइका क्रममा प्रस्तावित व्यक्तिले आफ्नो कार्ययोजना सुनाउने र त्यसपछि उजुरीमा केन्द्रित रहेर सुनुवाइ हुन्छ ।