सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

सातबुँदे सहमतिसँगै डा. गोविन्द केसीले अनशन तोडे

सातबुँदे सहमतिसँगै चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन्। 

सरकारले वार्ता टोलीसँग सातबुँदे सहमति भएसँगै केसीले सोमबार साँझ अनशन तोडेका हुन्। 

सहमति पत्रमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा कम्तीमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने, विश्वविद्यालय सभाबाट पारित भएबमोजिम एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृतिलगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्नेलगायत छन् । 

आन्दोलन उग्र बनेपछि सुनसरीको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू

सुनसरीको देवानगन्जमा आइतबार राति प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि चर्किएको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार साँझ जारी गरेको आदेशअनुसार सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म सुनसरीको पूर्व–पश्चिम एसियन हाइवेअन्तर्गतको खण्डमा पनि कर्फ्यु लागू हुनेछ । 

विज्ञापन प्रसारणअघि बोर्डको अनुमति अनिवार्य

विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई अनुमति लिन निर्देशन दिएको छ।

बोर्डले सूचना जारी गर्दै स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण समावेश नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्री प्रसारण भएको जनाएको छ।

रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, विभिन्न पदमा मनोनयनको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो।  

पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठकका मुख्य एजेन्डा गत महिना सम्पन्न पार्टीको पहिलो महाधिवेशनको समग्र समीक्षासम्बन्धी छ । त्यस्तै, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन सम्बन्धमा छन् । 

पिआर लिएका दुई कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पिआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनीहरूलाई विगतमा सफाई पेस गर्न १५ दिनको म्याद दिएको थियो। उक्त अवधिभित्र उनीहरूले पेस गरेको सफाइ सन्तोषजनक नदेखिएकाले दोस्रोपटकका लागि ३० दिनको म्याद दिई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ।

सुनसरी घटनाः कोशीका डिआइजी तथा सुनसरीका सिडिओ र एसपी तानिए

सुनसरी घटनापछि गृह मन्त्रालयका सुरक्षा अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको छ। कोशीका डिआइजी विनोद घिमिरेको सरुवा गरी त्यहाँ शेखर खनाललाई खटाइएको छ। 
त्यस्तै, सुनसरीका सिडिओ बासुदेव घिमिरेलाई हटाएर संखुवासभाका ईश्वरी अर्याललाई खटाइएको छ। 

सुनसरी घटनाप्रति सभापति थापाद्वारा दुःख व्यक्त, संयम रहन र निष्पक्ष छानबिन गर्न आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र संयम रहन आग्रह गरेका छन्। सभापति थापाले संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था आएकामा प्रश्न गरेका छन्।

खानी विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेको छ।

उक्त विधेयक  सरकारको सयदिने कार्यसूचीअनुसार सम्पन्न गरिएको महत्त्वपूर्ण कामका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने तयारी गरिएको मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ।

बर्दियामा खाना पकाउने ग्यास अभाव

बर्दियामा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। ग्यास कम्पनीहरूले पर्याप्त परिमाणमा आपूर्ति नगर्दा बजारमा ग्यास अभाव भएको हो। ग्यासको नियमित आपूर्ति हुन नसक्दा ग्यास खरिद गर्न पुगेका उपभोक्ताहरू खाली हात फर्किन बाध्य छन्।

ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको उपभोक्ताहरूले बताएका छन्। ठाकुरबाबा– १ का कञ्चनपुर बेदप्रकाश खतिवडाले मनकामना ग्यास नपाएर समस्या भएको बताए। घरमा ग्यास सकिएको एक हप्ता बितेपछि खाली सिलिन्डर बोकेर पटकपटक डिपो पुगे पनि ग्यास नपाएको गुनासो उनले गरे।

नेप्से ३३ अंकले घट्दा ६ अर्बको सेयर कारोबार

साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ। नेप्से ३३.२८ अंकले घटेर दुई हजार ७०१.३२ विन्दुमा कायम भएको हो। सोमबार नेप्से १.२१ प्रतिशतले घटेको हो।

आज कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ६ अर्ब २६ करोडमाथि रहेको कारोबार रकम घटेर ६ अर्ब आठ करोडमा झरेको हो। आज ३६० कम्पनीका एक करोड ३९ लाख २५ हजार कित्ता सेयर खरिद–बिक्री भए।

सुझावित समाचार