सुनसरीको देवानगन्जमा आइतबार राति प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि चर्किएको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार साँझ जारी गरेको आदेशअनुसार सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म सुनसरीको पूर्व–पश्चिम एसियन हाइवेअन्तर्गतको खण्डमा पनि कर्फ्यु लागू हुनेछ ।
प्रशासनले इनरुवा नगरपालिका–३ र ६ को सिमाना पर्ने घोपली टोलदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण दुवैतर्फ ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरेको जनाएको छ । सार्वजनिक सुरक्षा, राजमार्गको निर्बाध सञ्चालन र सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि कर्फ्यु लगाउने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी प्रशासनले दिएको छ ।
आइतबार राति देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सोमबार दिनभर सुनसरीका विभिन्न स्थानमा कर्फ्यु उल्लंघन गरेर पनि प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीले लौकी, भोक्राहा र इनरुवा क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। केही स्थानमा सवारी साधनमा तोडफोड हुन सक्ने अवस्था देखिएपछि प्रशासनले राजमार्ग क्षेत्रमा समेत कर्फ्यू विस्तार गरेको हो । यसअघि प्रशासनले देवानगन्ज र हरिनगर गाउँपालिकाका पाँच प्रमुख बजार क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिसकेको थियो।
सुनसरीको देवानगन्ज गाउँपालिका ३ कप्तानगन्ज नयाँबजारमा आइतबार राति बोलबम यात्रामा जानका लागि डिजे बाजा बजाएर नाचगान गरेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भयो । नौजना गोली लागेर गम्भीर घाइते भए। नेपाल प्रहरीका १० जना र शसस्त्र प्रहरीका पाँचजना घाइते भए ।
आइतबार साँझ भएको गोली प्रहार घटनाले गर्दा सोमबार दिनभरि सुनसरीको अवस्था तनावपूर्ण रह्यो। घटनास्थल देवानगन्जको कप्तानगन्ज मात्र नभएर सदरमुकाम इनरुवादेखि आपपास कोशी भोक्राह नर्सिग , हरिनगरा लगायतका स्थानमा कर्फ्यु उल्लंघन गर्दै तोडफोडसहितका प्रर्दशन भए । कोशी प्रदेशको राजधानी विराटनगरमा पनि घटनाको विरोधमा प्रदृशन भएको थियो ।
थप हिसात्मक घटना हुन नदिन सुनसरी प्रशासनले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरे पनि आक्रोशित स्थानीयले प्रदर्शन गर्दै तोडफोड थालेपछि जिल्ला सुरक्षा समितिको निर्णयले सेना पनि परिचालन गरिएको थियो।