विज्ञापन प्रसारणअघि बोर्डको अनुमति अनिवार्य

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई अनुमति लिन निर्देशन दिएको छ।

बोर्डले सूचना जारी गर्दै स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण समावेश नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्री प्रसारण भएको जनाएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५(ख), विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ५ तथा विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार विज्ञापन सामग्री परीक्षण र अनुमति प्रदान गर्ने अधिकार विज्ञापन बोर्डमा रहेको छ।

बोर्डले हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। साथै, प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउनसमेत भनिएको छ।

कानुनी व्यवस्था उल्लंघन गरी विज्ञापन प्रसारण गरेको पाइएमा सम्बन्धित पक्षमाथि कारबाही गरिने बोर्डले चेतावनी दिएको छ।

सुझावित समाचार