कैलालीको गोदावरी नगरपालिका–४, हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७, मनेहरामा बस्दै आएका चौधरी साथीहरूसँग हाटखोलीस्थित खोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेको देखेपछि साथीहरूले उद्धार गरी उपचारका लागि धनगढीस्थित निःसर्ग अस्पताल पुर्याएका थिए।
अस्पतालमा उपचारकै क्रममा शनिबार साँझ ५ः०२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।