शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले खुला बोर्डरका कारण सीमा क्षेत्रमा धेरै समस्या भोग्नुपरेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री गुरुङले खुला सीमानाका हुँदा अपराधका घटना बढेको बताए।

‘ओपन बोर्डर हुँदा यता खोज्दा उता भाग्ने, उता खोज्दा यता भाग्ने। धेरै कमिकमजोरी ओपन बोर्डर हुनाले देखियो,’ उनले भने।

विदेशका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार

सरकारले दक्षिण पूर्वी एसियाका देशहरूमा सञ्चालित स्क्यामिङ सेन्टरहरूबाट ८६० नेपालीको उद्धार गरेको छ। शुक्रबार आयोजित प्रेस ब्रिफिङका क्रममा परराष्ट्र मन्त्रालयले यस्तो जानकारी दिएको हो। कम्बोडियाबाट ७३३ जना, म्यानमारबाट ११३, लाओसबाट आठ र थाइल्यान्डबाट ६ नेपालीको उद्धार गरिएको हो। 

‘कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको उद्धार तथा सचेतनाका लागि निरन्तर पहल र समन्वय जारी नै राखेका छौँ,’ परराष्ट्रका अधिकारीले भने।

अख्तियारका आधा उजुरी स्थानीय तहविरुद्ध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमै ३३ हजारभन्दा बढी उजुरी परेका छन्। आर्थिक वर्ष ०८२/८३ मा विभिन्न माध्यमबाट ३३ हजार ३२८ उजुरी प्राप्त भएको आयोगको वार्षिक समीक्षा कार्यक्रममा जानकारी दिइएको हो।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका सात हजार ३२३ उजुरीसमेत गरेर कुल उजुरीको संख्या ४० हजार ६५१ पुगेको छ। त्यसमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन्। कुल उजुरीको ४८.९६ प्रतिशत स्थानीय तहका उजुरी छन् भने संघअन्तर्गतका ३८ प्रतिशत र प्रदेश सरकारअन्तर्गतका १३.०४ प्रतिशत छन्।

सप्तकोशीको कटानले श्रीलंका टापु संकटमा, अस्थायी तटबन्ध बनाइँदै

सप्तकोशी नदीको पश्चिमी किनारमा तीव्र कटान बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण कार्यलाई तीव्र बनाएका छन्। कटानका कारण स्थानीय बस्ती, खेतीयोग्य जमिन तथा भौतिक संरचनामा जोखिम बढेपछि स्थानीय समुदाय, सुरक्षा निकाय र सम्बन्धित निकायहरू परिचालन भएका छन्।

दुई पालिकाले संयुक्त रूपमा स्थानीय स्रोत–साधन प्रयोग गर्दै बोरामा माटो भरेर नदी किनारमा राख्ने कार्य गरिरहेका छन्। अभियानमा स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका छन्।

पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतको आदेश

कानुन संशोधन गरी पशु चिकित्सकलाई पशु औषधि सिफारिस गर्ने अधिकार सुनिश्चित गर्न सर्वाेच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले ०८३ साल जेठ १८ गते नेपाल सरकारका नाममा निर्देशात्मक आदेश जारी गर्दै औषधि ऐन, २०३५ मा यथाशीघ्र आवश्यक संशोधन गरी पशु चिकित्सकलाई पनि कानुनबमोजिम पशु औषधि सिफारिस  गर्ने अधिकार प्रदान गर्न भनेको हो। 

सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने

बर्दियामा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने भएको छ। राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको संख्या  बढेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रको  सेवा दिने व्यवस्था गरेको हो।

जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय दैनिक दुई सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन्। राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न  सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।

सर्वोच्चका न्यायाधीशलाई राजीनामा र महाभियोगको धम्की दिएको भन्दै तीन मानव अधिकारवादी संस्थाको चिन्ता

मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतको नियुक्तिमा अनुचित हस्तक्षेप भएकाे दाबी गर्दै चिन्ता व्यक्त गरेका छन्। एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आइसिजेले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा परेको बताएका हुन्।

संवैधानिक परिषद्को गणपूरक संख्या र मतदानसम्बन्धी प्रावधानसमेत परिवर्तन गर्ने गरी ऐनमा गरिएको संशोधनको परिणामप्रति चिन्ता व्यक्त गर्दै वक्तव्यमा भनिएको छ, ‘संवैधानिक परिषदमा पहिल्यैदेखि राजनीतिक पदधारकहरूको बहुमत रहेकोमा उक्त  संशोधनले न्यायिक नियुक्तिहरूमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढाउनेछ र न्यायिक स्वतन्त्रता तथा विधिको शासनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूलाई कमजोर बनाउनेछ।’

प्यान नम्बर बन्द गर्ने सिफारिसका लागि घुस, लेखा अधिकृत रंगेहात पक्राउ

स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि घुस माग्ने लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगको टोलीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका– ३० का लेखा अधिकृत (छैटाैँ) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा शुक्रबार वडा कार्यालयबाटै पक्राउ परेका हुन्।

नेपालको सबैभन्दा ठुलो निर्यात वस्तु प्रशोधित सोयाबिन तेल

आर्थिक वर्ष ०८२/८३ मा नेपालको सबैभन्दा ठुलो निर्यात वस्तु प्रशोधित सोयाबिन तेल बनेको छ । कुल निर्यातको करिब ४१ प्रतिशत हिस्सा सोयाबिन तेलले ओगटेको छ । एक खर्ब २८ अर्ब ७४ करोड रुपैयाँबराबरको प्रशोधित सोयाबिन तेल भारत निर्यात भएको छ । एक वर्षमा नेपालबाट ५९ करोड ३८ लाख किलोभन्दा बढी सोयाबिन तेल भारत गएको छ ।

दोस्रो ठुलो निर्यात वस्तु ठुलो अलैँची छ । १२ अर्ब ६४ करोड रुपैयाँबराबरको अलैँची निर्यात भएको छ । त्यसपछि प्रशोधित सूर्यमुखी तेल आठ अर्ब ९४ करोड रुपैयाँ, जुटका कपडा सात अर्ब १४ करोड रुपैयाँ र ऊनका गलैँचा ६ अर्ब ७३ करोड रुपैयाँबराबर निर्यात भएका छन् । नेपाली गलैँचाको प्रमुख बजार अमेरिका रहेको छ । 

अर्घाखाँचीमा बाँदर र बँदेल हेरालु नियुक्त गर्न वडाहरू पनि अग्रसर

बाँदर र बँदेलबाट कृषि बाली जोगाउन अर्घाखाँचीमा वडाहरूले पनि हेरालु नियुक्तिका लागि अग्रसरता देखाएका छन् । बाँदर र बँदेलआतंकबाट कृषकको बाली दिनप्रतिदिन क्षति हुँदै गएपछि डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर हेरालु नियुक्तको प्रक्रिया अगाडि बढाएलगत्तै यहाँका पालिकाका वडाहरूमा पनि हेरालु नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । पाणिनी गाउँपालिका– ५ ले शुक्रबार सूचना जारी गर्दै आवेदन माग गरेको छ ।

सुझावित समाचार