बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ मा रहेको ठाकुरद्वारा मन्दिरपरिसरमा नेपाली सेनाले निर्माण गरेको मूल पुजारीघर र महाआरती सेडघर ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गरिएको छ।
नेपाली सेनाको आर्थिक वर्ष ०८२/८३ को शीघ्र प्रभावी आयोजनाअन्तर्गत मूल पुजारीघर र महाआरती सेडघर निर्माण गरेको जबरजंग गणका गणपति प्रमुख सेनानी दीपेन्द्र शाहीले जानकारी दिए।
उत्तर–पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपेशजंग शाहले नवनिर्मित संरचनाको उद्घाटन गर्दै मन्दिरको व्यवस्थापन तथा विकासका लागि नेपाली सेनाले आगामी दिनमा पनि सहकार्य गर्दै यस्ता जनहितका विकास तथा संरक्षणका कार्यलाई निरन्तरता दिने बताए।
सेनाले शीघ्र प्रभावी आयोजनाअन्तर्गतका संरचना निर्माणसँगै मन्दिर परिसरको आरती घर मर्मत तथा रङरोगन, पोखरीको रङरोगन, स्नानगृहको स्तरोन्नति, मर्मत तथा रङरोगन, घन्टी स्ट्यान्ड निर्माण, जबर चौतारी निर्माण तथा मन्दिरपरिसरको समग्र रङरोगनसमेत सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक राम, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे, ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिका अध्यक्ष रुद्रबहादुर खड्कालगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।