नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ । मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने विश्वास व्यक्त गरे ।
‘मार्भल टेक्नोप्लास्टजस्ता प्रतिष्ठित ब्रान्डले नेपाली क्रिकेटमा निरन्तर लगानी गरिरहेको देख्नु अत्यन्त सकारात्मक पक्ष हो,’ उनले भने, ‘यस्ता सहकार्यले एनपिएललाई मात्र होइन, समग्र नेपाली क्रिकेटको विकास, व्यावसायिकता र दीर्घकालीन उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ ।’
मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष सन्चेतीले टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिए । उनले भने, ‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा गर्व महसुस गर्छौँ । एनपिएलजस्तो प्रतियोगिताले देशलाई खेलमार्फत एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ ।’
एनपिएलको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले यसअघि पनि विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्यलाई निरन्तर विस्तार गर्दै आएको छ ।