- रिसिङ गाउँपालिका– १ मा ९० प्रतिशत मगर समुदायको बसोबास भएकाले विद्यालयमा अन्य समुदायका बालबालिकाको भर्ना शून्य
- प्रधानाध्यापक टेकबहादुर थापा भन्छन्– अझै पनि स–साना कक्षामा अध्ययन गर्ने केही विद्यार्थी मगर भाषा मात्रै बोल्ने गर्दछन् । विद्यालयको प्रांगणमा प्रवेश गरेपछि सबैले नेपाली भाषामै कुरा गर्छन्, तर विद्यालय छुट्टी भएर गेटबाहिर निस्कनेबित्तिकै उनीहरू मगर भाषामै कुराकानी गर्छन् ।
तनहुँको रिसिङ गाउँपालिका– १, गैह्राखुँदीस्थित दीपक माविमा अध्ययन गर्ने सबै बालबालिका मगर समुदायका छन् । जहाँ बाल विकासदेखि १० कक्षासम्म १९७ जना बालबालिका नै मगर समुदायका छन् । भर्ना भएका सबै विद्यार्थी मगर समुदायका रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताए । मगर समुदायका भएकाले सुरुसुरुमा भाषा बुझ्न अलिकति असहज भए पनि अहिले भने त्यस्तो कुनै समस्या नभएको उनको भनाइ छ ।
विशेषगरी अंग्रेजी पढाउँदा बुझ्न गाह्रो हुने भएकाले अंग्रेजीलाई पहिला मगर भाषामा उल्था गरेर बुझाउने गरिन्थ्यो, तर पछिल्लो समय भने अंग्रेजी माध्यमबाटै पढाउने गरिन्छ । ‘अझै पनि ससाना कक्षामा अध्ययन गर्ने केही विद्यार्थीहरू मगर भाषा मात्रै बोल्ने गर्दछन् । विद्यालयको प्रांगणमा प्रवेश गरेपछि सबैले नेपाली भाषामै कुरा गर्छन्, तर विद्यालय छुट्टी भएर गेटबाहिर निस्कनेबित्तिकै उनीहरू मगर भाषामै कुराकानी गर्छन्,’ उनले भने ।
विद्यालयमा शौचालय तथा खानेपानीको पनि सुविधा राम्रै छ, तर विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नहुँदा भने समस्या छ । प्रावि तहका शिक्षकले बालबालिकालाई पढाउनुपर्ने बाध्यता छ । कक्षा १ देखि ८ सम्मलाई पढाउनुपर्ने भए पनि दरबन्दीअनुसारको शिक्षक नहुँदा माथिल्लो तहमा पढाउनुपर्ने बाध्यता विद्यालयको हो । विद्यालयमा ढुवाला, छाप, लोकमा, सेटाङलगायतका बालबालिका पढ्न आउने गर्दछन् । गत वर्ष एकजना दलित समुदायका विद्यार्थी भर्ना भए पनि यो वर्ष अन्यत्रै पढ्न गएपछि विद्यालयमा मगरजातका बालबालिकाहरू मात्रै रहेका छन् । विद्यालयको फर्निचर र बेन्च पनि जीर्ण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । सुरुदेखि अहिलेसम्म पुरानै बेन्च प्रयोग भइरहेको छ । पैसा नहुँदा जीर्ण बेन्च परिवर्तन गर्न सकिएको छैन । ‘विद्यालयमा एकजना निमावि राहत, एकजना प्रावि राहत र सातजना प्रावि स्थायी शिक्षक छन् । त्यस्तै, तीनजना निजी शिक्षक, एकजना लेखापाल, एकजना बाल विकास शिक्षक र एकजना कार्यालय सहयोगी गरी कुल १६ जना शिक्षक कर्मचारीहरू विद्यालयमा अध्यापनरत छन् । शिक्षक भए पनि माविका नभएपछि तल्लो तहका शिक्षकले पढाउनुपरेको हो, जसका कारण पनि शैक्षिक गुणस्तरमा समस्या छ,’ उनले भने ।
विद्यालय ०१८ मा स्थापना भएको थियो । गाउँपालिकाले पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको वडाध्यक्ष कुशबहादुर थापाले बताए । ‘शिक्षा हाम्रो पहिलो प्राथमिकता हो । तर, धेरै बजेट नहुँदा भनेजति विकास गर्नसकेका छैनौँ । ग्रामीण क्षेत्रका विद्यालयमा अझै पनि पर्याप्त मात्रामा पूर्वाधार थप्न सकेका छैनौँ । आजको युग प्रविधिको हो । तर, हामीले जताततै प्रविधिको प्रयोग गरी अध्यापन गराउन सकेका छैनौँ । तर, पनि विद्यालयको शैक्षिक गुणस्तरका लागि भने विभिन्न काम गरेका छौँ,’ उनले भने, ‘कक्षा ९ र १० का लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेका छौँ, यसले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याएको छ भने अभिभावकलाई थोरै भए पनि राहतको महसुस गराएको छ ।’
गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क ट्युसनको व्यवस्था मिलाएको छ । त्यसैगरी, स्थानीय पाठ्यक्रम सञ्चालनका लागि बजेट पारित भइसकेको हुँदा यो वर्षदेखि मगर भाषाका कक्षा सञ्चालन हुने वडाध्यक्ष थापाले बताए । ‘पालिकाभरि ७० प्रतिशत मगर समुदायको बाहुल्य छ । तर, हाम्रो वडामा भने ९० प्रतिशत छ । बाँकी रहेको १० प्रतिशतमा दलित, नेवार र केही क्षेत्री समुदायका छन् । तर, अन्य समुदायका केही विद्यार्थी बजार त केही अन्यत्र पढ्न गए । जसका कारण अहिले सबै मगर समुदायका मात्रै विद्यार्थी अध्यनरत छन् त्यसैले यो वर्षदेखि मगर भाषाको कक्षा सञ्चालन हुने भएको हो,’ उनले भने ।