नेपाल विद्युत् प्राधिकरणले गत आव ०८२/८३ मा बाह्रै महिना निर्यात गरेको छ । गत आव २९ अर्ब ३२ करोड ४७ लाखको बिजुली निर्यात गरेको नेपालले आयात भने १० अर्ब ५६ करोडको मात्र गरेको हो । निर्यात बढ्दा विद्युत् व्यापारबाट नाफा पनि १८ अर्ब ७६ करोड ५० लाख रुपैयाँ भएको छ ।
स्वदेशी उत्पादनमा भएको वृद्धि र चैत–वैशाखमा पनि पानी पर्दा भारत र बंगलादेशमा विद्युत् निर्यातमा उछाल आएको हो भने भारतबाट हुने आयातमा गिरावट आएको छ ।
प्राधिकरणका अनुसार अघिल्लो आव ०८१/८२ मा चार अर्ब ५४ करोड ८० लाख रुपैयाँ मात्र रहेको व्यापार बचत गत वर्ष झन्डै चौबरले बढेको हो ।
गत आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा गरी तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेर २९ अर्ब ३२ करोड ४७ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी त्यस अघिल्लो आव २०८१/८२ (१७ अर्ब ४७ करोड १० लाख रुपैयाँ) को तुलनामा ६७.८४ प्रतिशतले धेरै हो ।
प्राधिकरणले बर्खायाममा भारतमा एक हजार मेगावाटभन्दा बढी र बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदीप्रवाह (आरओआर) मा आधारित भएकाले सामान्यतया जेठ अन्तिमदेखि पुस पहिलो सातासम्म मात्र बिजुली निर्यात हुने गर्दथ्यो । तर, गत वर्ष चैत र वैशाखजस्ता ‘अफसिजन’ मा समेत परेको पानीका कारण उत्पादन बढेपछि बाह्रै महिना बिजुली निर्यात गर्न सफल भएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार नेपालमा वार्षिक ५–६ सय मेगावाट विद्युत् उत्पादन थपिँदै गएकाले खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्ने क्रम बढ्दो छ । यो प्रवृत्ति आगामी दिनमा पनि कायम रहने उनले बताए ।
‘नेपालमा खपत भएर बाँकी भएको विद्युत् निर्यात गर्ने हो । पछिल्लो समय नेपालमा वार्षिक ५–६ सय मेगावाट विद्युत् थप हुँदै गएको छ । त्यसले निर्यात पनि बढाएको छ । त्यसपछि निर्यातबापत हुने आम्दानी पनि बढ्दो छ,’ उनले भने ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदीप्रवाह (आरओआर)मा आधारित छन् । बर्खामा नदीखोला भरिँदा विद्युत् उत्पादन पनि बढी हुन्छ । त्यसैले विद्युत निर्यात पनि बर्खामा बढी हुन्छ । हिउँदमा भने नदी खोलामा पानीको सतह घट्ने भएकाले उत्पादन पनि घट्छ । र, माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्छ ।
१८.२९ प्रतिशतले घट्यो आयात
नेपालमा नयाँ जलविद्युत् आयोजना थपिँदै गएपछि हिउँदमा भारतबाट हुने विद्युत् आयातमा कमी आउन थालेको छ । गत आव २०८२/८३ मा १० अर्ब ५५ करोड ९९ लाख ५५ हजार रुपैयाँको मात्र विद्युत् आयात भएको छ । यो अघिल्लो आव २०८१/८२ को आयात (१२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ) भन्दा १८.२९ प्रतिशतले कम हो ।
हिउँदको सुख्खायाममा नदीमा पानीको बहाव घट्दा माग धान्न भारतबाट पाँच देखि ६ सय मेगावाटसम्म बिजुली आयात गर्नुपर्ने बाध्यता रहे तापनि गत वर्ष उत्पादन बढेकाले आयातको परिमाण र रकम दुवै घटेको छ ।
नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । भारतमा विद्युत् निर्यात भने सन् १९७२ देखि सुरु भएको थियो । त्यसवेला भारतकै सहयोगमा बनेको २५ मेगावाटको त्रिशूली जलविद्युत् परियोजनाबाट पाँच मेगावाटसम्म बिजुली भारतमा निर्यात गरिएको थियो ।
उक्त परियोजनाको विद्युत् त्रिशूली–काठमाडौं–कुलेखानी–वीरगन्ज (६६ केभी प्रसारण)लाइन हुँदै भारतको रक्सौलमा निर्यात गरिन्थ्यो ।यस्तै, जोगबेनी र रामनगरस्थित प्रसारणलाइनबाट भारतका विभिन्न प्रदेशमा पठाइन्थ्यो । यद्यपि, स्वदेशी माग धान्न नसकेपछि बिचमा विद्युत् निर्यात रोकिएको थियो ।
नेपाल र भारतबिच व्यवसायी रूपमा विद्युत् आदान–प्रदान भने कात्तिक ०७८ यता मात्रै भएको हो । त्यसभन्दा पहिला इनर्जी बैंकिङ (ऐँचो–पैँचो), विद्युत् आदान–प्रदान सम्झौता र महाकाली–सन्धिअनुसार विद्युत् आयात–निर्यात हुने गर्दथ्यो । भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात भने कात्तिक ०७८ मा सुरु भएको हो ।
नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा १ मे ०२१ मा प्रवेश पाएको थियो । भारतको उक्त मार्केटमा प्रवेश पाउने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले ३ नोभेम्बर २०२१ नोभेम्बरमा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले भारतको मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ । ३० कात्तिक ०८१ मा नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको थियो । बंगलादेशमा बर्खामा ४० मेगावाट विद्युत् निर्यात हुन्छ ।
कुन महिना कति निर्यात
- साउन : चार अर्ब १७ करोड ३६ लाख
- भदौ : चार अर्ब ७० करोड ८२ लाख
- असोज : पाँच अर्ब २३ करोड २८ लाख
- कार्तिक : तीन अर्ब ८१ करोड ६ लाख
- मंसिर : एक अर्ब ८७ करोड ९९ लाख
- पुस : २६ करोड ३८ लाख
- माघ : दुई करोड १४ लाख
- फागुन : ११ करोड ७१ लाख
- चैत : २० करोड ७८ लाख
- वैशाख : एक अर्ब २८ करोड १९ लाख
- जेठ : दुई अर्ब ६८ करोड ५२ लाख
- असार : चार अर्ब ९४ करोड १८ लाख
कुन महिना कति आयात ?
- मंसिर : दुई करोड ४८ लाख
- पुस : ९५ करोड चार लाख
- माघ : दुई अर्ब तीन करोड ३६ लाख
- फागुन : दुई अर्ब २२ करोड ७३ लाख
- चैत : दुई अर्ब १८ करोड ६१ लाख
- वैशाख : एक अर्ब ४७ करोड ५४ लाख
- जेठ : ९४ करोड ९८ लाख
- असार : ३७ करोड ९७ लाख
- टनकपुर–सन्धि थप : ३३ करोड २५ लाख
स्रोत : नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक तथ्यांक