सिदिङ्वामा पहिरोमा परी दुई घर विस्थापित, लाखौँको क्षति

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

लगातारको वर्षापछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– १, कालीखोलामा गएको पहिरोले दुई घरमा ठुलो क्षति पुर्याएको छ । मंगलबार बिहान गएको पहिरोले एक घर पूर्ण रूपमा बगाएको छ भने अर्को घर बस्न नमिल्ने गरी क्षति पुगेपछि दुवै परिवार विस्थापित भएका छन् ।

साब्लाखु प्रहरी चौकीका अनुसार निभारेका जीवनाथ बानियाँ र मेहरमान बानियाँको घरमा पहिरोले क्षति पुर्याएको हो । मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । वडा सदस्य टइन्द्रप्रसाद चापागाईंले जीवनाथ बानियाँको घर पूर्ण रूपमा पहिरोले बगाएको बताए । घरमा उनकी बुहारी सीता बानियाँ र एक नातिनी मात्रै बस्दै आएका थिए । उनीहरू पहिरो जानुअघि नै सोमबार आफन्त दिलबहादुर बानियाँको घरमा सरेर बसेकाले मानवीय दुर्घटना टरेको उनले बताए । हाल सीता बानियाँ नाबालिका छोरीसहित आफन्तकै घरमा आश्रय लिएर बसिरहेको चापागाईंले जानकारी दिए । 

यस्तै, मेहरमान बानियाँको घर बस्न नमिल्ने अवस्थामा पुगेपछि सातजनाको परिवार आफ्नै पशुगोठमा बस्न बाध्य भएको वडासदस्य चापागाईंले जानकारी दिए । पहिरोले जीवनाथको घरसँगै खाद्यान्न, लत्ताकपडा, भाँडा–वर्तनलगायत सम्पूर्ण सामग्री बगाउँदा करिब नाै लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मेहरमानको घरमा रहेका सामग्री भने समयमै निकाल्न सफल भएकाले घर संरचनामा मात्रै करिब ६ लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।

पहिरोले स्थानीयको मकैबाली, अलैँचीसहित अन्य कृषि उत्पादनमा समेत क्षति ठुलो पुर्याएको बताइएको छ । 

घटनापछि साब्लाखु प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) पदमबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा क्षतिको विवरण संकलन गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 
 

सुझावित समाचार