१५औँ साफ च्याम्पियनसिप नोभेम्बरमा

फिफाको निलम्बनमा रहेको नेपालको ढाकामा हुने साफ च्याम्पियनसिपमा सहभागिता अनिश्चित

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

दक्षिण एसियाली फुटबल महासंघले १५औँ साफ पुरुष च्याम्पियनसिपको आगामी संस्करण ४ देखि १७ नोभेम्बरसम्म बंगलादेशको ढाकामा आयोजना हुने निर्णय गरेको छ । साफ च्याम्पियनसिपको मिति र आयोजक घोषणा हुँदा नेपालको सहभागिता भने अनिश्चित बनेको छ । गत महिना फिफाले नेपालको फुटबल संघमाथि प्रतिबन्ध लगाएको थियो । फिफाको निलम्बनमा रहेको नेपालले प्रतियोगिता खेल्न पाउने वा नपाउने विषयमा अझै अन्योल कायम रहेको छ । 

प्रतियोगिता सुरु हुनुअघि निलम्बन फुकुवा भएमा मात्र नेपालले साफ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ । फिफाले निलम्बन फुकुवा नगरेको खण्डमा नेपाल साफ च्याम्पियसिप सहभागी हुन पाउनेछैन । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति महासंघले तय गरेको हो ।

साफ कार्यसमितिको बैठकले मंगलबार प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय गरेको हो । साफ च्याम्पियनसिप सन् २०२५ मै ‘होम एन्ड अवे’ ढाँचामा सञ्चालन गर्ने योजना बनाइएको थियो । तर प्रायोजक, बजेट तथा प्राविधिक व्यवस्थापन नमिल्दा बंगलादेशले प्रतियोगिता एक वर्षपछि सारिएको थियो । 

बंगलादेशले प्रतियोगिता गर्न नसक्ने अवस्था आउँदा श्रीलंकाले साफले प्रतियोगिता गर्ने प्रस्ताव पठाएको थियो । श्रीलंकाली फुटबल संघले केन्द्रीय प्रतियोगिताका रूपमा आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर, प्राविधिक तथा व्यवस्थापकीय कठिनाइ देखाउँदै श्रीलंकाले पछि आयोजक बन्न नसक्ने जनायो । 

 ११ अगस्टमा ‘ड्र’ हुने 
महासंघले प्रतियोगिताको अफिसियल लोगो २५ जुलाईमा सार्वजनिक गर्नेछ । अफिसियल ‘ड्र’ अगस्ट १ मा भुटानको थिम्पुमा हुनेछ । साफ च्याम्पियनसिप २०२६ को मिति र आयोजनास्थल घोषणा गर्न हर्षित रहेको साफका महासचिव पुरुषोत्तम कट्टेलले बताए । क्षेत्रीय फुटबलको प्रमुख प्रतियोगितामा सबै सदस्य संघहरूले सहभागिता जनाउने अपेक्षा उनले लिएका छन् । फिफा विश्वकप २०२६ सकिएकाले साफ च्याम्पियनसिपले थप नयाँ उत्साह थप्ने विश्वास साफले लिएको छ । बंगलादेशले यसअघि सन् २०१८ मा साफ आयोजना गरेको थियो ।

सुझावित समाचार