नागरिकताको पर्खाइमै ८२ वर्ष

नागरिकता नहुँदा अँध्यारोमा रात काट्दै रामदेवका तीन पुस्ता, ट्युबवेलको पानीको भर

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

झापा दमक नगरपालिका– ८, विरानटोलको एउटा कुनामा जस्ताले बारेर बनाइएको चिसो र साँघुरो झुप्रो छ । साँझ पर्नेबित्तिकै आसपासका घर झिलिमिली उज्यालोले जगमगाउँछन्, तर त्यो झुप्रो भने अन्धकारमा डुब्छ । न त त्यहाँ बिजुलीको लाइन छ, न खानेपानीको धारा नै ।

झापाको गौरीगन्ज गाउँपालिका– ३ मा जन्मिएका ८२ वर्षीय रामदेव महतो आफ्नै देशभित्र ‘अपरिचित’ भएर जीवनको उत्तरार्ध काट्न बाध्य छन् । कारण एउटै छ, उनको हातमा नेपाली नागरिकता छैन ।नागरिकता नभएकै कारण न त उनले बिजुलीको मिटर जोड्न पाएका छन्, न खानेपानीको सुविधा । अरूको ट्युबवेलबाट मागेर पानी पिउनुपर्ने बाध्यता छ । सहरमा सडकबत्ती बलेपछि त्यसैको उज्यालोको सहारामा परिवारले रातको खाना खान्छन् ।

‘ठुलो पानी पर्दा टिनको छाप्रोले छेक्दैन, रातभरि भिजेरै बस्छौँ,’  रामदेवकी छोरी वसन्ती भन्छिन्, ‘भिजेर रात कटाउनुपर्दा र यो उमेरमा वृद्ध बुबाआमा पानीले भिजेको देख्दा मन साह्रै रुन्छ ।’ रामदेवको यो नियति अहिले उनको एकजनाको मात्र रहेन । एउटा नागरिकता नहुँदा त्यसको मार तीन पुस्ताले भोगिरहेका छन् । ८२ वर्षीय रामदेव र ७५ वर्षीया श्रीमती देवी कवाडी संकलन गरेर जसोतसो जीवन धान्दै आएका छन् । नागरिकता नहुँदा राज्यले दिने वृद्धभत्ता र अन्य सामाजिक सुरक्षाबाट पनि यो दम्पती वञ्चित छ ।

बुबाको नागरिकता नभएकै कारण छोरी वसन्तीको पनि नागरिकता बन्न सकेको छैन । घरबार बिग्रिएपछि माइत फर्किएकी उनी ठेलामा चिया बेचेर परिवार सम्हाल्दै छिन् । वडा कार्यालयको सहयोगमा मुस्किलले कक्षा १२ मा पढ्दै गरेकी उनलाई नागरिकता अभावमा भविष्य डामाडोल हुने चिन्ताले सताएको छ । त्यति मात्र होइन नागरिकता अभावको यो चक्र अब वसन्तीका छोरा (रामदेवका नाति) सम्म पुग्ने जोखिम बढेको छ ।

६४ वर्षअघि बुबाआमाको निधनपछि दमक आएका रामदेवका आफन्त सबैको नागरिकता छ । तर, सानैमा अभिभावक गुमाए । उनै बुबाआमाले पनि नागरिकता नबनाएका कारण रामदेवले पनि नागरिकता बनाएनन् । पछि नागरिकताको महत्व बुझे । सरकारी अड्डा धेरैपटक धाए । तर, रामदेवको नागरिकता बनेन । रामदेव प्रमाण जुटाउन नसक्दा प्रशासनको ढोकाबाट बारम्बार रित्तो हात फर्किनुपरेको छ ।

वडा कार्यालय जाँदा पुरानो प्रमाण ल्याऊ भनेर फर्काइन्छ भने जिल्ला प्रशासन कार्यालय पुग्दा सुनिने रुखो शब्दले उनको मन झनै दुखाउँछ ।‘म गौरीगन्जमै जन्मिएको हो । बुवाआमा पनि सुकुमवासी हुनुहुन्थ्यो । केही नभएपछि दमक आएर बसेको हुँ । म नेपाली नै हो । तर, मेरो नागरिकता अझै बनेन,’ गहभरि आँसु पार्दै रामदेव आफ्नो पीडा पोख्छन्, ‘वडा जाँदा प्रमाण मागिन्छ, सानैमा बुबाआमा बितेका हुन्, कहाँबाट ल्याउनु प्रमाण? सिडिओ कार्यालय जाँदा काम हुँदैन । ‘तिम्रो मात्र कुरा सुन्ने फुर्सद छैन, अब नआउनु,’ भन्छन् ।

तर, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तीनपुस्तेभित्रको आधार हेरेपछि थाहा हुने बताए । ‘बुवाआमा पनि छैनन् भनेपछि नेपाली हुन् कि हैनन् नबुझी भन्न सकिँदैन । केही कागज छैन भने हामीले केही गर्न सक्ने अवस्था हुँदैन । ०६३ मा जन्मको आधारमा वा वंशजको आधारमा सहज तरिकाले नागरिकता बन्दा उनी कहाँ थिए ?’ सिडिओ गेलालले भने, ‘उनीसँग केही कागजात छ कि छैन हेर्नुपर्छ । उनको तीनपुस्तेभित्र केही आधार छ भने हेर्नुपर्छ ।’

‘नेपाली भएरै मर्न पाऊँ’
रामदेवको झुप्रो रहेको जग्गा पनि उनको होइन । मासिक १५ सय रुपैयाँ भाडा तिरेर जग्गा लिएका छन् । झुप्रोमा बसिरहेका रामदेवलाई अब धनसम्पत्तिको लोभ छैन । उनलाई केवल आफ्नो गुमेको पहिचान चाहिएको छ । ‘नागरिकता भएको भए भत्ता पाउँथेँ होला, त्यसैले घर चलाउन अलि सजिलो हुन्थ्यो,’ जीवनको उत्तरार्धमा पुगेका रामदेव भावुक सुनिन्छन्, ‘मेरो जीवन त यसै बित्ने भयो, छोरीनातिको के होला ? तर मलाई जीवनको अन्तिम क्षणमा भए पनि म नेपाली नागरिक हुँ भनेरै मर्न मन छ ।’

नागरिकताको पर्खाइमा रहेका ८२ वर्षीय रामदेव र उनकी छोरी वसन्ती महतो 

‘म गौरीगन्जमै जन्मिएको हुँ । बुबाआमा पनि सुकुमवासी हुनुहुन्थ्यो । केही नभएपछि  दमक आएर बसेको हुँ । म नेपाली नै हो । तर, मेरो नागरिकता अझै बनेन,’ गहभरि आँसु पार्दै रामदेव आफ्नो पीडा पोख्छन्, ‘वडा जाँदा प्रमाण मागिन्छ, सानैमा बुबाआमा बितेका हुन्, कहाँबाट ल्याउनु प्रमाण ? सिडिओ कार्यालय जाँदा काम हुँदैन । ‘तिम्रो मात्र कुरा सुन्ने फुर्सद छैन, अब नआउनू ।’

सुझावित समाचार