सक्कली बिल लिएर लखपति बन्न सरकारकाे आग्रह

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन तथा नागरिकलाई सक्कली बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सुरु गरेको छ।

यस योजनाअन्तर्गत हरेक दिन एकजना नेपालीलाई लखपति बनाइने व्यवस्था गरिएको छ। साथै, हरेक महिनामा दुईजना विजेताले बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यो योजनामा मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने नागरिक सहभागी हुन सक्नेछन्। अनलाइन वा नगद दुवै माध्यमबाट गरिएको भुक्तानीमा प्राप्त सक्कली बिलको नम्बर नै पुरस्कार छनोटको आधार हुनेछ।

सरकारले अबदेखि नागरिकलाई कुनै पनि सामान खरिद गर्दा वा होटेल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन आग्रह गरेको छ। यसले कर प्रणालीलाई पारदर्शी बनाउन, राजस्व चुहावट रोक्न र उपभोक्तामा बिल लिने बानीको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हालका लागि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाका विजेताको घोषणा गरिने जनाइएको छ।

सुझावित समाचार