सर्वाधिक तेल बेच्ने पेट्रोलपम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइज पहिलो, एक अर्ब ९९ करोडको कारोबार

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८२–८३ मा देशभर सबैभन्दा बढी इन्धन कारोबार गर्ने पेट्रोलपम्पको सूचीमा धादिङको निलकण्ठ नगरपालिकास्थित भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा रहेको छ। सो पेट्रोल पम्पले गत आवमा एक अर्ब ९९ करोड ११ लाख ६० हजार २ सय ६५ रुपैयाँको पेट्रोल र डिजेल खरिद गरेर लगेको आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जले जनाएको छ।

निगमबाट खरिद गरेर लगेको इन्धनमा नाफा र ढुवानी लागतसमेत जोडेर बिक्री गर्ने भएकाले पम्पहरूको कुल कारोबार झन् बढी हुन आउँछ। भैरवी इन्टरप्राइजेज लगातार तेस्रोपटक सर्वाधिक तेल बिक्री गर्ने पम्प बनेको हो। सूचीको दोस्रो स्थानमा काठमाडौंको सामाखुसीस्थित प्रहरी कल्याण कोष पेट्रोलपम्प रहेको छ। सो पम्पले गत आवमा एक अर्ब ८५ करोड ५३ लाख १ हजार १ सय ४७ रुपैयाँको पेट्रोल–डिजेल खरिद गरेर लगेको निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले जनाएको छ।

सूचीको तेस्रो स्थानमा चितवनको नारायणगढ चोकमा सञ्चालित कैलाश आयल डिस्ट्रिब्युटर्स छ। सो पम्पले आयल निगमको अमलेखगन्ज डिपोबाट एक अर्ब ६७ करोड ९१ लाख ७ हजार ८ सय ९ रुपैयाँको तेल खरिद गरेर लगेको थियो। त्यस्तै, चौथो नम्बरमा नेपाल आर्मीद्वारा काठमाडौंको भद्रकालीमा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसन रहेको छ। रिपुमर्दिनीले गत आवमा एक अर्ब ६७ करोड ३६ लाख ८१ हजार ६ सय ७८ रुपैयाँको पेट्रोल–डिजेल खरिद गरेको निगमको थानकोट डिपोले जनाएको छ।

पाँचौँ स्थानमा रहेको ललितपुरको पुल्चोकस्थित साझा सेवा सहकारी पेट्रोलपम्पले निगमको थानकोट डिपोबाट एक अर्ब ४१ करोड ५० लाख २१ हजार ७२९ रुपैयाँको तेल खरिद गरेको थियो। सूचीको छैटौँ नम्बरमा बुटवलको मिलन ब्रदर्स सप्लायर्स रहेको छ। सो पम्पले एक अर्ब ३४ करोड ९३ लाख ४९ हजार ९ सय २७ रुपैयाँको तेल खरिद गरेर लगेको निगमको लुम्बिनी प्रादेशिक कार्यालय, रुपन्देही (भलवारी)ले जनाएको छ।

सातौंदेखि १०औँ नम्बरमा भने काठमाडौं उपत्यकाभित्रका पम्प छन्। सातौँ स्थानमा रहेको नक्सालस्थित प्रहरी कल्याण कोष पम्पले एक अर्ब ३३ करोड ८९ लाख २६ हजार २७७ रुपैयाँ, आठौँ स्थानमा रहेको भक्तपुर फ्युल सेन्टरले एक अर्ब १८ करोड ७६ लाख ७० हजार ६०३, नवौँ स्थानमा रहेको बालाजुस्थित सत्यनारायण प्रालिले १ अर्ब १७ करोड ९४ लाख ९३ हजार १५६ र १०औँ नम्बरको बागमती आयल सप्लायर्सले १ अर्ब १७ करोड ७ लाख ३४ हजार ५७ रुपैयाँको तेल खरिद गरेर लगेको निगमको थानकोट डिपोले जनाएको छ।

एक अर्बभन्दा बढीको कारोबार गर्ने पम्पको संख्या १६
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार देशभर एक हजार पाँच सय ३० पेट्रोलपम्प सञ्चालनमा छन्। यीमध्ये वार्षिक एक अर्बभन्दा बढी रकमको कारोबार गर्ने पेट्रालपम्पको संख्या १६ वटा छन्।

सर्वाधिक तेल बेच्ने १० पम्पको सूचीमा रहेकाबाहेक चितवनको बाइपास रोडमा सञ्चालित साझा पेट्रोलपम्पले एक अर्ब १५ करोड, नुवाकोटको बट्टारमा सञ्चालित भैरवी आयल स्टोरले एक अर्ब १४ करोड, बाराको पथलैयामा सञ्चालित प्रहरी कल्याण केन्द्र पम्पले एक अर्ब ८ करोड, बाराको अमलेखगन्जमा रहेको आकाश पेट्रोलियम प्रालिले एक अर्ब ८ करोड, सशस्त्र प्रहरीद्वारा ललितपुरको लगनखेलमा सञ्चालित शक्तिदेवी पेट्रोल स्टेसनले एक अर्ब ७ करोड र काठमाडौंको महादेवस्थानमा सञ्चालित हिमाल इन्टरप्राइजेजले एक अर्ब चार करोडको पेट्रोल–डिजेल खरिद गरेर लगेको आयल निगमले जनाएको छ।

सुझावित समाचार