थुनिएको सेती नदीको अवस्था उस्तै : जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययन सुरु

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

पोखरा बजारको बिच भाग भएर बहने सेती नदी थुनिएको चार दिन बितिसक्दा पनि अवस्था उस्तै छ । पोखरा महानगरपालिका वडा नम्बर १५ र १७ को सिमानामा पर्ने रातोपैह्रो क्षेत्रमा गत वैशाखमा आएको सुक्खा पहिरोले सेती बहने सतहको बाटोमा अवरोध भएपछि करिब ३५–४० मिटर माथिबाट पानी बगिरहेको छ । पानी थुनिनेसँगै पहिरो खसेको स्थानबाट माटो खस्नेक्रम जारी रहेको स्थानीयको भनाइ छ ।

सेती नदी थुनिएको फोटो र भिडियो मिडिया र सामाजिक सञ्जालमा आएपछि मात्र कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ आइतबार दलबलसहित अवलोकन एवं निरीक्षणमा पुगेका छन् । घटनास्थल जिल्ला प्रशासन कार्यालय कास्कीबाट मात्र चार किलोमिटर दूरीमा छ ।

सेती थुनिएपछि स्थानीयले पटक–पटक जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायमा खबर गरे पनि समाधानका लागि कसैले चासो देखाएका थिएनन् । सञ्चारमाध्यममा समाचार आएपछि मात्र अवलोकनका लागि सिडिओको टोली आएको एक स्थानीयले बताए ।

सिडिओ गुरुङले जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययन भइरहेको र त्यसले दिने प्रतिवेदनअनुसार अघि बढ्ने बताए । विज्ञसहित सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय गरिने उनको भनाइ छ ।सेती बहने सतहमा अवरोध भएपछि ढिस्कोसहितको पहिरो खसेको स्थानमा यसअघि तल्लो भागबाट पानी बग्दै आए पनि लगातारको वर्षाका कारण पहिरोले ल्याएको बोटबिरुवाले ढिस्काका प्वालहरू टालिदिएपछि नदी थुनिन पुगेको स्थानीयको भनाइ छ । सेतीको आधा पानी पुरानै सतहबाट बगेको छ भने आधा पानी करिब ३५–४० मिटर माथिबाट झरनाजस्तै गरी बगेको छ ।

पोखरा महानगरपालिक– १० स्थित रामघाटबाट भूमिगत, खोँच, अर्ध–भूमिगत हँुदै करिब सात किलोमिटरको दूरी पार गर्दै रातोपैह्रो क्षेत्रमा सेती निस्केको छ । भूमिगत स्थान पार गर्दै खुला क्षेत्रमा निस्कने स्थानमा पानी रोकिएपछि रामघाटमा समेत सेतीको सतह बढेको छ ।

लगातार वर्षा भइरहने र ठेलिएको पानी यही अवस्थामा रहिरहे त्यसले ठुलो जोखिम निम्त्याउन सक्ने आकलन गरिएको छ । सेती भूमिगत भएको स्थानबाट निस्कने रातोपैह्रोसम्मको क्षेत्रका विभिन्न स्थानमा गहिरो चिरा, सुरुङजस्ता भाग जहाँ चुनढुंगा र क्याल्सियमयुक्त निक्षेपभित्र गहिरो खोँच तथा कतिपय स्थानमा नदी सतहबाट नदेखिने गरी भूमिगत च्यानल बनाउँदै बगेकाले त्यसले ठुलो समस्या खडा गर्न सक्ने अनुमान गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सेती नदीमा पहिरो जाँदा पानीको बहावमा केही अवरोध भएको पाइएकाले भविष्यमा गर्नुपर्ने कार्यसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन गर्न सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना र पोखरा महानगरपालिकालाई समन्वयात्मक रूपमा कार्यसम्पादन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

सुझावित समाचार