एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको आरोप लगाएका छन् । पार्टीको संसदीय मामिला विभागले आइतबार केन्द्रीय कार्यालय च्यासलमा गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएका हुन् ।
लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भए पनि अहिले सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने षड्यन्त्रबाट सुरु भएको उनको भनाइ छ । ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्, तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीको आधारबाट बनेको हो,’ ओलीको भनाइ थियो ।
विध्वंसको पूर्णताका रूपमा बनेको वर्तमान सरकारबाट अराजकतावादमा राज्य सञ्चालन भइरहेको ओलीको आरोप छ । अहिले देशमा दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको दाबी गर्दै उनले त्यसको सुरुवात २३ र २४ भदौको विध्वंसकारी घटनाबाट सुरु भएको ओलीको भनाइ छ ।
देशको राजनीतिलाई यस अवस्थाबाट फर्काउनुपर्ने बताउँदै अध्यक्ष ओलीले यस प्रयासमा संघीय संसद्, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । सामाजिक सञ्जालमा उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको दाबी पनि ओलीको छ । ‘सामाजिक सञ्जालले असामाजिक ढंगले काम गर्ने र समाजमा भयानक ढंगले विकृति फैलाउने काम गरेका छन्,’ उनले भने ।
कार्यक्रममा महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति, निर्णय आत्मसात गर्दै र पार्टीको दीर्घकालीन हितलाई ध्यानमा राखेर संसद्मा भूमिका प्रभावकारी बनाउन निर्देशन दिए । उनले सांसदहरूलाई विषयवस्तुको प्रस्तुतिमा पार्टीको दृष्टिकोण, चुनावी घोषणापत्रका विषयवस्तु र आफूले प्रतिनिधित्व गर्ने वर्ग र समुदायको हितलाई ध्यान दिन सुझाउँदै जनमत बदल्न सकिने चिज भएकाले जनताको विश्वास जित्ने गरी संगठित र एकताबद्ध रूपमा अगाडि बढ्न आग्रह गरे ।
सचिव तथा संसदीय मामिला विभाग प्रमुख पद्मा अर्यालले संसद्को भूमिकालाई प्रभावकारी र परिणाममुखी बनाउन कार्यक्रम आयोजना गरिएको बताइन् । अहिलेको विशेष अवस्थाको संसद्लाई विशेष नै बनाउन चाहेको बताउँदै संसदीय दलकी उपनेतासमेत रहेकी अर्यालले जनताका सवाललाई संसद्मा प्रस्तुत गर्दा प्राज्ञिक, बौद्धिक र तार्किक बनाउन तथा सांसदहरूको प्रस्तुति ओजनदार बनाउन अन्तत्र्रिmया आयोजना गरिएको बताइन् । कार्यक्रममा संसद्का पूर्वसचिव हर्कराज राईले संसद्को प्रभावकारिताका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सांसदहरूलाई बलियो फिडब्याकको आवश्यकता रहेको बताए ।