नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीले धक्का खाएको उल्लेख गर्दै सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले सडक संघर्षमा पनि कार्यकर्ताको मनोबल खस्किएको बताए।
‘सडक संघर्षको मोर्चातिर पनि मनोबल अलिक खस्किएको अवस्था छ। हामीले धक्का खाएका छौँ। धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द भएर बढेको हुँदैन,’ उनले भने।
लोकतन्त्रमा सरकार परिवर्तनका संवैधानिक बाटो रहेको उल्लेख गर्दै ओलीले अहिलेको राजनीति दिशा, नीति र थितिविहीन तरिकाले चलिरहेको टिप्पणी गरे। ‘अहिले बनेको सरकार, अहिले भएको परिवर्तनको प्रारम्भ नै मान्छे मार्ने मराउने, षड्यन्त्रबाट सुरु भएको छ,’ उनले भने।