नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारको समस्या सम्बोधन गर्ने उद्देश्यसहित आर्थिक वर्ष ०८३/८४ को नीति र पुँजीबजार सुधार मार्गचित्र सार्वजनिक गरेपछि सेयर बजार परिसूचक उकालो लाग्न थालेको छ । मंगलबारयता बजार परिसूचक १०७.३७ अंकले बढेको छ । शुक्रबार एकै दिनमा परिसूचक ७९.७४ अंकले बढेको हो ।
पछिल्लो समय सरकारले पनि पुँजीबजार उकास्न गतिविधि बढाइरहेको छ । बिहीबार मात्रै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसँग भेटेर पुँजीबजारका विषयमा छलफल गरेका थिए । त्यस्तै, बजारको मनोबल बढाउने उद्देश्यले प्रधानमन्त्री बालेनले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँग छलफल अघि बढाइरहेका छन् । यसले बजारलाई सकारात्मक प्रभाव पारेको जानकारहरू बताउँछन् ।
नयाँ सरकार आएपछि एक सय दिनका कार्ययोजनामा सक्रिय रहँदा वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी ठुला मुद्दा दायर भएका थिए । यसले लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढाउँदा सेयर बजार परिसूचक ओरालो लागेको थियो । सोमबारसम्ममा बजार सूचक २५७०.१८ विन्दुमा झरिसकेको थियो । तर, सेबोनले पुँजीबजार सुधारको योजना ल्याएसँगै बजार पुनः लयमा फर्किएको हो ।
गत १० असारयता पहिलोपटक शुक्रबार (१ साउनमा) सेयर बजारमा चार अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत १० असारमा चार अर्ब ३१ करोडको कारोबार भएको थियो । शुक्रबार चार अर्ब ५३ करोडको कारोबार भएको छ ।
यो साताको सुरुवातमा सोमबार नेप्से परिसूचक ३०.६ अंकले घटेर २५७०.१८ विन्दुमा पुगेको थियो । दोस्रो दिन मंगलबार ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको थियो । बुधबार १४ अंकले बढेर २५९०.२९ विन्दु र बिहीबार ७.५ अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो । शुक्रबार ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेको हो ।