साउन २ देखि ८ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको साउन २ गते शनिबारदेखि साउन ८ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको सुरुमा काममा उतारचढाव आउने योग छ । विश्वास गरेकाले धोका दिनेछन् । कुरा काट्नेहरू बढ्नेछन् । गलत विचार बढ्नुका साथै धार्मिक कार्यमा अरुचि बढ्नेछ । विनाकारण दुःख पाउने समय छ । पराक्रमको आडमा अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग भए पनि संयमता अपनाउनुपर्ला । सानु भूलको पनि परिणाम ठुलो हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अर्थलाभका अवसर आउनुका साथै अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवनमा मतभेद रहने योग छ । मेलमिलापको भावना राम्रो हुनुका साथै समय राम्रो भएकाले शुभ कुराको संकेत मिल्नेछ । बुधबारदेखि चोटपटकको सम्भावना छ । अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । कामको दायित्व बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइ–लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यावसायिक काम बिचमा अवरुद्ध बन्न सक्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारीका लागि यो साता राम्रो देखिएको छ । वैदेशिक यात्राको योग खुलेको छ । रोकिएका काम बन्नुका साथै स्वास्थ्यमा समेत सुधार आउनेछ । परिवारमा खुसी छाउनेछ । सन्तान पक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट शुभफलमा वृद्धि हुने संकेत देखिएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गणेश भगवान्को पूजा गर्नाले शुभ हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसाय मध्यम रहेको छ । परिवारमा खुसीको खबर प्राप्त हुनेछ । मायाप्रेमका लागि रमाइलो वातावरण बन्नेछ । पारिवारिक सहयोग प्राप्तिको योग रहेको छ । श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम खुल्दै जानेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक संकट पर्नेछ । महत्वपूर्ण काममा ध्यान पुर्याउनुपर्ने देखिन्छ । बुधबारदेखि पारिवारिक जमघटमा मन रमाउनेछ । मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्दसमेत प्राप्त हुनेछ । साताको अन्त्यमा वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । स्थानान्तरण र टाढाको यात्राको पनि सम्भावना छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । सहयोगीले काममा साथ दिनेछन् । रोकिएका काम बन्नेछन् । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बिहीबारदेखि आफ्नै कमजोरीले विवादमा परिने योग छ । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) विश्वासको वातावरण बन्नेछ । विभिन्न देवालय मठमन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । घरायसी वातावरणमा केही धमिलोपन भने आउने सम्भावना छ । इष्टमित्रसँग भेटघाट हुनेछ । माता मनकामनालाई प्रार्थना गर्नाले शुभ हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । उद्योग क्षेत्रमा लगानी विस्तार हुनेछ । मानसम्मान बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रतिष्ठित काम गर्ने मौका छ । मातापिताको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । प्रेम गर्नेका लागि शुभ हुनेछ । बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग रहेको छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । टाढाको यात्रा गर्नुपर्ने भएकाले शिव भगवान्को आराधनाले काममा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यावसायिक काम बन्नेछन् । साताको अन्त्यमा आफन्तको मद्दतले काम बन्नेछन् । इष्टदेवको पूजा–उपासना गर्दा विशेष सफलता मिल्नेछ ।

See More On

सुझावित समाचार