कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष ०८२/८३ मा जरिवानाबापत पाँच करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। जिल्ला अदालतले एक वर्षमा जरिवानाबापत पाँच करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ राजस्व संकलन गरेको हो।
विगतका वर्षहरूमा विभिन्न प्रकृतिका मुद्दाबाट ३० करोड १४ लाख ९७ हजार ३१२ रुपैयाँ बक्यौता भएकोमा पाँच करोडभन्दा बढी रकम असुल गरिएको हो। देशभरका जिल्ला अदालतको मुद्दा फैसलामा पहिलो भएका न्यायाधीश राजेन्द्रसिंह भण्डारीले अदालतमा उपलब्ध स्रोतसाधनको अधिकतम उपभोग गरेर मुद्दा फर्स्याेट गरिएको बताए।
कञ्चनपुर जिल्ला अदालतका तहसिलदार नारायणदत्त ओझाले फैसला भएका मुद्दामा जरिवाना तोकिएका व्यक्तिहरूबाट उक्त रकम एकै वर्षमा असुल गरिरहेको बताए। श्रेस्तेदार जनकप्रसाद शर्माले गत आर्थिक वर्षमा अघिल्ला वर्षबाट सरी आएका ६८८ र नयाँ दर्ता एक हजार ५२० गरेर दुई हजार २०८ मुद्दामध्ये एक हजार ५२४ मुद्दा फैसला गरिएको बताए। एक हजार ४११ मुद्दा फर्स्याेट गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ११३ वटा बढी मुद्दा फर्स्याेट गरिएका छन्।
१८ महिनाभित्रका ६६१ र १८ महिना काटेका २३ वटा मुद्दा बाँकी रहँदा दुई वर्ष नाघेका मुद्दा शून्य छन्। जिल्ला अदालतका न्यायाधीश भण्डारीले भौतिक संरचनाको अभाव चुनौतीका रूपमा रहेको औँल्याए।
कर्मचारी तथा प्रहरीलाई सम्मान
यसैबिच कञ्चनपुर जिल्ला अदालतले न्याय निरुपण र फैसला कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्ने अदालतका कर्मचारीदेखि प्रहरीलाई सम्मान गरेको छ। उत्कृष्ट कार्य सम्पादन गर्ने नासु रुद्रप्रसाद बोगटी, अधिकृत लक्ष्मण चपाई र जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणि गिरी, डिएसपी टेकबहादुर रावत, मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा, प्रहरी नायब निरीक्षक भानबहादुर चन्द, जिल्ला अदालतमै कार्यरत प्रहरी वरिष्ठ हवल्दार जमनसिंह भाट, प्रहरी सहायक हवल्दार नरेन्द्रबहादुर रानालाई सम्मान गरिएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए।
अदालतका कर्मचारीलाई जनही पाँच हजार नगद र प्रहरी अधिकृत कर्मचारीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। न्यायाधीयद्वय राजेन्द्रसिंह भण्डारी र सूर्यप्रसाद भण्डारीले सम्मान गरेका हुन्।