धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले उपचाररत एक बिरामीको साढे ३१ लाखको उपचार खर्च मिनाहा गरी घर पठाएको छ। डडेल्धुराकी बन्दना लिम्बू एक वर्ष ११ महिना एक दिनदेखि उपचाररत रहेकामा बिहीबार निको भएर घर फर्किएकी छिन्। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण अस्पतालले उनको उपचार र औषधि खर्चबापत बाँकी रहेको ३१ लाख ६१ हजार ७७८ पूरै मिनाहा गर्ने निर्णय गरेको हो।
बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष तीर्थराज पन्तले सामाजिक दायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता भएको बताए। ‘हरेक बिरामीका पछाडि एउटा परिवारको सपना, पीडा र आशा जोडिएको हुन्छ। आर्थिक अभावकै कारण कोही पनि उपचारबाट वञ्चित नहोस् भन्ने हाम्रो सदैव प्रयास रहन्छ। स्वास्थ्य सेवा नाफाभन्दा माथि मानवीय संवेदनेसँग जोडिएको क्षेत्र हो,’ उनले भने।
बन्दना लिम्बू ३१ साउन २०८१ मा घरनजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्। डडेल्धुरा अस्पतालमा प्रारम्भिक उपचारपछि सोही दिन उनलाई थप उपचारका लागि धनगढीको निसर्ग हस्पिटलमा रिफर गरिएको थियो।
अस्पताल भर्ना भएलगत्तै उनको पहिलो शल्यक्रिया गरिएको थियो। दुईवटा ठुला (मेजर) र आवश्यक साना (माइनर) शल्यक्रियाहरू गरिएको थियो। त्यस्तै, लामो समयसम्म आइसियू सेवा र सघन नर्सिङ केयर प्रदान गरिएको थियो भने निरन्तर फिजियोथेरापी र पुनर्स्थापना उपचार सेवा भएको थियो।
अस्पतालले घर फर्किने क्रममा बन्दनाको सहजताका लागि एक थान आरामदायी ह्विलचेयरसमेत उपहारस्वरूप प्रदान गरेको छ।