काठमाडौं उपत्यकाका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार दुई साताभित्र व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले निर्देशन दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवाप्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका विभिन्न ६ स्थानका प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने काम सम्पन्न गर्न निर्देशन दिइएको हो ।
अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम उत्पन्न हुनुका साथै सहरी सौन्दर्यसमेत बिग्रिएको भन्दै पहिलो चरणमा त्रिपुरेश्वर–कालीमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी ६ वटा रुटका तार व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।