रातो पासपोर्ट दुरुपयोग प्रकरणमा उच्चले गर्‍यो जिल्लाकै फैसला सदर

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

कूटनीतिक राहदानी दुरुपयोगका मुद्दामा उच्च अदालतले जिल्लाबाटै भएको फैसला सदर गरेको छ । गत २३ असारमा उच्च अदालत पाटनले लगाउमा रहेका १९ थान मुद्दामा यस्तो फैसला गरेको हो ।

न्यायाधीशहरू खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले तत्कालीन संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपूजन रायसमेतलाई सजाय सुनाउने गरी भएको फैसला सदर गरेको हो । जिल्ला अदालतले तीनैजनालाई २१ जेठ ०७१ मा दोषी ठहरको फैसला सुनाएको थियो । जसअनुसार जनही पाँच महिना कैद र पाँच सय रुपैयाँ जरिवाना हुने भएको थियो । 

जिल्लाबाट दशकअघि नै फैसला भए पनि निकै पछि मात्र यी मुद्दा उच्च आइपुगेका थिए । उच्चको अभिलेखअनुसार २८ साउन ०८१ मा मात्र पुनरावेदनको रोहमा यी मुद्दा दर्ता भएका छन् । मुद्दामा डिलबहादुर घर्ती, देवेन्द्र पौडेल, गोपाल बानियाँ, पृथ्वी छन्त्याल, मनोजकुमार कार्की र सीता शाह छन्त्याल पनि प्रतिवादी थिए । यो मुद्दाका प्रतिवादी तथा पूर्वसभासद् नारदमुनि राना, गायत्रीका पिता एवं सभासद् हरिचरण साह तथा प्रतिवादी डिएन धितालले सफाइ पाएका थिए । संविधानसभा सदस्य साह, यादव र रायले आफ्नो रातो पासपोर्ट अर्थात् कूटनीतिक राहदानी दुरुपयोगका लागि दिएको कसुरमा सजाय सुनाइएको थियो । 

सक्कली फोटो उप्काएर नक्कली व्यक्तिको फोटो राखी भिसा स्टिकर र सरकारी छाप किर्ते गरेको अभियोगमा मुद्दा चलेको थियो । यसरी नक्कली राहदानी लिएर गएका एकजना अस्ट्रेलिया पुगिसकेका थिए भने दुईजना २०११ जनवरीमा समातिएका थिए । विशिष्ट राहदानीलाई दुरुपयोगका लागि दिएको अभियोग लागेका तीन सभासद् दोषी पाइएका हुन् । 

सुझावित समाचार