सिराहामा ब्राउनसुगरजस्तो पदार्थसहित पाँच दिनमा पाँचजना पक्राउ

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै ठाउँबाट पछिल्लो पाँच दिनको अवधिमा कडा खालको मानिने प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ ।  सिराहाको मिर्चैया नगरपालिका– ६, कटारी चोकबाट मंगलबार राति प्लास्टिकबाहेक ७० मिलिग्राम र सिराहा नगरपालिका– १५ बुधौरा चोकबाट एक ग्राम ५४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

सिराहा प्रहरीका प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार लागुऔषध लुकाएर राखिएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले प्लास्टिकबाहेक ७० मिलिग्राम लागुऔषध, नगद र पाँच थान मोबाइलसहित पाँचजनालाई पक्राउ गरिएको हो ।

मिर्चैया– १ का करिब ३५ वर्षीय उमेश श्रेष्ठले सञ्चालन गरेको बेकरी पसलबाट चारवटा कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको आगुऔषध, २२ हजार २५० रुपैयाँ नगद बरामदसँगै बेकरी सञ्चालक श्रेष्ठसहित मिर्चैया– ८ जीवा टोलका करिब ३२ वर्षीय चन्द्रप्रसाद गिरी, मिर्चैया– ६ का करिब २१ वर्षीय देवकुमार पासवानलाई पक्राउ गरिएको उनले बताए । पक्राउ गरिएकाहरूलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै, सीमावर्ती प्रहरी चौकी खिरौनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले गत शनिबार सिराहा– १५ बुधौराबाट भारत हुँदै नेपालतर्फ म.प्र. ०१–००४ प ६२३५ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका कल्याणपुर नगरपालिका– ८ का करिब २२ वर्षीय सुनील मण्डलले भित्री वस्त्रमा कालो प्लास्टिकमा लुकाएको एक ग्राम ५४० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ बरामद गरेको छ । प्रहरीका अनुसार ब्राउनसुगरजस्तो पदार्थ बरामद भएपछि मोटरसाइकलचालक सुनिलसहित पछाडि बसेका करिब १९ वर्षीय नरेश मण्डललाई समेत पक्राउ गरी जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।   

सुझावित समाचार