नेपाली कांग्रेसकी सांसद गीता गुरुङले राज्य संयन्त्रले नागरिकको संस्थागत हत्या गरेको आरोप लगाउँदै सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउनुपर्ने बताएकी छिन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएपछि नौजनाले ज्यान गुमाइसकेकाे उल्लेख गर्दै यस्तो बताएकी हुन्।
राज्यले लिएको अव्यावहारिक नीतिका कारण नागरिकले ज्यान गुमाउनुपरेको बताउँदै उनले सुकुमवासीको व्यवस्थापनमा सरकारको कमजोरी र मानवीय संवेदनाको कमी देखिएको टिप्पणी गरिन्।
‘राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुमवासीहरूले शृंखलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो । आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि चल्ने कि नचल्ने ?’ उनले प्रश्न गरिन्।
गुरुङले संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसमक्ष मागसमेत दोहोर्याइन्। पछिल्ला कदमले सरकारको ‘एक्सप्रेस वे’मा शंकैशंका उब्जिएको उनको भनाइ छ।
उनले भनिन्, ‘इतिहासमा सफल प्रधामन्त्री बन्ने बाटो रोज्नुहोस्, असफलताको एक्सप्रेस होइन। गन्तव्यमा पुग्न गति मात्र उच्च भएर हुँदैन दिशा पनि ठिक हुनुपर्छ। तपाईंको एक्सप्रेस वेमा आज शंकैशंका उब्जिएको छ प्रधानमन्त्रीज्यू।’