दोहा पुगे उपराष्ट्रपति यादव

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार कतारको दोहा पुगेका छन् । कतारका अमिर शेख हमद बिन खलिफा अल थानीको अन्त्येष्टि समारोहमा सहभागी हुन नेपाल सरकारका तर्फबाट उपराष्ट्रपति यादव दोहा पुगेका हुन् ।

‘उपराष्ट्रपतिज्यू र उहाँको प्रतिनिधिमण्डल हामी कतारको दोहा आइपुगेका छौँ,’ उनका परराष्ट्र मामिलाविज्ञ विनोदकुमार पौडेलले टेलिफोनमा भने । उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेट गर्ने कार्यक्रम तय भएको उनले बताए । अमिर थानीलाई उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको शोक सन्देश हस्तान्तरण गर्नेछन् । 

भ्रमण टोलीमा परराष्ट्र मामिलाविज्ञ पौडेल, परराष्ट्र मन्त्रालयका मध्य, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्का, उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव आनन्दकुमार यादव, उपराष्ट्रपतिका एडिसी प्रमुख सेनानी सुदीप बानियाँ, परराष्ट्रका उपशिष्टाचार महापाल प्रेमराज गौतम तथा शिष्टाचार अधिकृत विवेक मिश्र छन् । उपराष्ट्रपति यादव बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

सुझावित समाचार