लगातारको वर्षापछि आएको बाढीले कास्कीमा झोलुंगे पुल बगाएको छ । अन्नपूर्ण गाउँपालिका– ११ स्थित किम्रोङ खोलाको झोलुंगे पुल बाढीले बगाएको हो । पालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बाढीले पुल बगाएपछि सो क्षेत्रमा आवतजावत पूर्ण रूपमा प्रभावित बनेको छ ।
करिब १४० मिटर लामो पुल बगेसँगै किम्रोङ हुँदै घान्द्रुक आउने बाटो बन्द भएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने किम्रोङ खोलामाथिको पुल बाढीले बगाएसँगै स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी, सर्वसाधारणसँगै पदयात्राका लागि गएका र जाने स्वदेशी एवं विदेशी पर्यटक समस्यामा परेका छन् ।
अब किम्रोङबाट घान्द्रुक आउन करिब दुई घण्टाको फेरो घुम्नुपर्ने अवस्था भएको अध्यक्ष केसीले बताए । अब किम्रोङबाट भुजुङ, मेलाचे हुँदै घान्द्रुक आउनुपर्नेछ । उनले विशेषगरी वर्षायाममा पुल बगेसँगै वैकल्पिक एवं सुरक्षित मार्गको अभावले जोखिम अझ बढेको बताए । स्थानीयको सुरक्षा, सहज आवागमन तथा अन्नपूर्ण पदमार्गको निरन्तरताका लागि सम्बन्धित निकायले आवश्यक पहल तत्काल थाल्ने अपेक्षा पालिकाले गरेको केसीको भनाइ छ ।
मोदी खोलामा आएको बाढीका कारण अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सेउली बजारमा सडक कटान गरेको छ । सडक कटानका कारण बिरेठाटी हुँदै पर्यटकीय गाउँ घान्द्रुक जाने पक्की सडक पूर्ण रूपमा बन्द भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण सेउली बजारमा रहेको दिपील गुरुङको रेस्टुरेन्ट तथा घर बगाएको छ । जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको छ । वरिपरि रहेका अन्य घरसमेत जोखिममा रहेको उनले बताए । सडक कटानका कारण सवारीसाधन आवतजावत गर्न नमिल्ने अवस्थामा रहेकाले बाटो मर्मतपछि मात्र सडक सञ्चालनमा आउने र यसका लागि केही दिन लाग्ने उनको भनाइ छ ।
खोलामा पानीको बहाव घटेपछि ग्याबिन जाली भरेर बाटो सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । बाटोका कारण केही दिन घान्द्रुक जान नमिल्ने उनको भनाइ छ । मोदीखोलाआसपास बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन, नदीकिनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न उनले अनुरोधसमेत गरेका छन् ।