बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

‘१५ सयभन्दा बढी राजनीतिक नियुक्ति खारेज’

रास्वपा नेतृत्वको सरकारले हालसम्म १५ सयभन्दा धेरै राजनीतिक नियुक्ति खारेज गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जानकारी दिएका हुन्।

राजनीतिक नियुक्ति खारेज गरिएसँगै योग्यता प्रणालीका आधार नियुक्ति दिन थालिएको उनले बताए। धितोपत्र बोर्ड, राष्ट्रिय योजना आयोग र विश्वविद्यालयहरूमा योग्यता प्रणालीमा नियुक्ति सम्पन्न भइसकेको र बाँकी निकायमा अन्तिम चरणमा रहेको उनको भनाइ छ।

टेलिकमको बिलिङसम्बन्धी भ्रष्टाचार मुद्दाः सुनील पौडेल र संगीता पहाडीसहित १८ जनालाई सफाइ

नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का लगाउँदा साढे ३३ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । टेलिकमका पूर्वप्रबन्ध निर्देशकहरू सुनील पौडेल, संगीता पहाडीलगायत १८ जनाले बुधबार सफाइ दिएको हो। ठेक्का सम्झौताको सर्तविपरीत ठेकेदारलाई बढी रकम दिएर भ्रष्टाचार अख्तियारको दाबी थियो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सफाइ दिएको हो। 

६ पुस ०६८ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) र एसियन इन्फो लिंकेज टेक्नोलोजिज इंक (चाइना) बिच टेलिकमको विलिङ प्रणाली स्तरोन्नति गर्नेसम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार टेलिकमले ‘कन्भरजेन्ट रियल टाइम बिलिङ एन्ड कस्टोमर सपोर्ट’  (सिआरटिबी एन्ड सिएस) को खरिद प्रक्रिया अघि बढाएको थियो । टेलिकमले प्रदान गरिरहेका जिएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वायरलाइन-वायरलेस ब्रोडब्यान्डलगायतका दूरसञ्चारसम्बन्धी सेवाहरूको बिलिङलगायतका प्लेटफर्मबाट विद्युतीय माध्यमद्वारा सञ्चालन भइरहेका प्रणालीलाई एउटैमा एकीकृत गर्ने, रियल टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्य थियो। 

अख्तियारका प्रहरीको सरुवामा किन उठ्यो प्रश्न ?

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि दबाब दिइरहेको विषयमा आलोचना भइरहँदा गृह मन्त्रालयले आयोगका सबै प्रहरी हेरफेर गर्न निर्देशन दिएको छ। आयोगको समन्वयविना नै यसरी एक्कासि प्रहरी सरुवा हुन थालेपछि अनुसन्धान प्रभावित हुन थालेको छ। 

आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक(डिआइजी) शेखर खनालसहित १८ अधिकृतको गत साता नै सरुवा भइसकेको छ। अन्यको पनि सरुवा तयारी भइरहेको छ। सरुवामा परेका कतिपय अधिकृत हाइप्रोफाइल जोडिएका भ्रष्टाचार प्रकरणको अनुसन्धानमा संलग्न थिए। यद्यपि, प्रहरी प्रधान कार्यालयले भने सरुवा नियमित भएको दाबी गरेको छ। बिहीबार विज्ञप्ति प्रकाशन गरी प्रधान कार्यालयले दबाबमा सरुवा गरिएको अस्वीकार गरेको छ।  

रकम हिनामिनाको आरोपमा पक्राउ परेका बाल संगठनका तीन पूर्वपदाधिकारीलाई तीन दिन थुनामा राख्न अनुमति

संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका नेपाल बाल संगठन(बालमन्दिर)का तीन पूर्वपदाधिकारीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। संगठनको तत्कालीन शाखा प्रमुख आशा श्रेष्ठ, काठमाडौं कार्यसमितिाक तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुरका अध्यक्ष ओमकृष्ण कर्माचार्यलाई ठगी मुद्दामा म्याद थप भएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। 

उनीहरूले संस्थाको रकम हिनामिना गरेको सिआइबीले जनाएको छ। जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वायनको क्रममा उनीहरूलाई जिम्मेवार ठहर गरेको थियो।

सुकुमवासीलाई विनाविकल्प होल्डिङ सेन्टरबाटसमेत हटाएकाेमा आयोगको गम्भीर आपत्ति

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका विभिन्न स्थानबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूलाई विनाविकल्प त्यहाँबाटसमेत हटाउन सुरु गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सरकारलाई सुकुमवासीहरूको मानव अधिकार जोखिममा पर्ने कुनै पनि कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न कडा निर्देशन दिएको छ।

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवक अनलाइन राइडर, ह्विल लकअघि नगर प्रहरीसँग भनाभन

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने २५ वर्षीय गणेश नेपाली अनलाइन राइडर रहेको खुलेको छ। नेपालीले बिहीबार अपराह्न विभागको ३ नम्वर गेटअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

प्रहरीका अनुसार उनी राइडिङका क्रममा घटनास्थल पुगेका थिए। यही क्रममा उनको काठमाडौं महानगरका नगर प्रहरीसँग भनाभन भएको थियो। त्यसपछि नगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक गरेको थियो। त्यसपछि नेपालीले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए।

राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता, साढे तीन वर्षमै २८ मुख्यमन्त्री

०७९ को निर्वाचनपछि सातवटा प्रदेशमा २८ मुख्यमन्त्री फेरिएका छन् । एउटै व्यक्ति पटक–पटक मुख्यमन्त्रीमा दोहोरिएकासमेत गरी २८ पुगेका हुन् । यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित छन् ।

कोशीमा साढे तीन वर्षमा ६ मुख्यमन्त्री फेरिएका छन् । एमालेबाट हिक्मत कार्की तीनपटक र कांग्रेसबाट उद्धव थापा दुईपटक तथा केदार कार्की एकपटक मुख्यमन्त्री बनेका हुन् । हिक्मत कार्की पछिल्लोपटक २७ वैशाख ०८१ देखि मुख्यमन्त्री छन् ।

धुर्बे हात्तीपीडित परिवारलाई निकुञ्जले दियो २० लाख राहत, धुर्बेको निगरानी गर्न उच्च प्रविधिको तयारी

चितवन राष्ट्रिय निकुञ्जले धुर्बे हात्तीबाट पीडित बोटे परिवारलाई २० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जामगर, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, वडा नम्बर २३ का अध्यक्ष दीपक दवाडीलगायतको टोली पीडित परिवारको घरमै पुगेर राहत हस्तान्तरण गरेको हो ।

एमालेको मत सर्वेक्षण– ८७.६ प्रतिशत सहभागी नेतृत्व परिवर्तनको पक्षमा

नेकपा (एमाले)को रूपान्तरण र पुनर्संरचनाका लागि ‘पुनर्जागरण अभियान २०८२’ले मत सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनले एमालेको नेतृत्व र कार्यशैलीप्रतिको असन्तुष्टिलाई देखाएको छ।

सर्वेक्षणमा सहभागीमध्ये झन्डै ८७.६ प्रतिशतले एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्। १०.५ प्रतिशतले हालकै नेतृत्व ठिक रहेको प्रतिक्रिया दिँदा १.९ प्रतिशत सहभागी तटस्थ बसे।

वर्तमान पार्टी नेतृत्वको व्यवहार र आचरणबारे सोधिएको प्रश्नमा ९५.४ प्रतिशत सहभागी नेतृत्व सुध्रिनुपर्छ भन्ने पक्षमा देखिए। ९१.४ प्रतिशतले एमाले रूपान्तरण हुनुपर्ने धारणा राख्दा ७.४  प्रतिशत मात्रै हालकै अवस्थामा अघि बढ्न सकिने बुझाइमा देखिए।

नेप्से दोहोरो अंकले घटेर २६ सय विन्दुमा

बुधबार ३० अंकले घटेको नेप्से परिसूचकमा बिहीबार पनि दोहोरो अंकको गिरावट आएको छ। नेप्से १९.६७ अंकले घटेर दुई हजार ६०१.९२ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४९ अंकले घटेको छ।

आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ६१ करोड १९ लाख ५४ हजारबराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सामान्य गिरावट देखिएको हो। बुधबार चार अर्ब ८२ करोडको सेयर किनबेच भएको थियो।

बिहीबार सेयर बजारका १३ वटै समूहको सूचक ओरालो लागेका छन्। व्यापार समूह २.३६ प्रतिशतले घट्दा म्युचल फन्ड, उत्पादन तथा प्रशोधन र विकास बैंक १.११ प्रतिशतले घटेका छन्।

सुझावित समाचार