चितवन राष्ट्रिय निकुञ्जले धुर्बे हात्तीबाट पीडित बोटे परिवारलाई २० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जामगर, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, वडा नम्बर २३ का अध्यक्ष दीपक दवाडीलगायतको टोली पीडित परिवारको घरमै पुगेर राहत हस्तान्तरण गरेको हो ।
यसअघि मंगलबार भरतपुर महानगरपालिकाले पीडित परिवारलाई चार लाख रुपैयाँ, खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री उपलब्ध गराएको छ भने परिवारका एकजना सदस्यलाई रोजगारीको सुनिश्चितता गरेको छ । धुर्बेले शनिबार राति भरतपुर महानगरपालिका– २३, जगतपुरमा चार दिनअघि घरमै पसेर २३ वर्षीया आशिका बोटे र उनका चारवर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो ।
राहत रकम हस्तान्तर गर्दै वरिष्ठ संरक्षण अधिकृत पुर्जामगरले पीडित परिवारको घर पुनर्निर्माणमा पनि निकुञ्जले प्रत्यक्ष सहयोग गर्ने जानकारी दिए । उनका अनुसार घर निर्माणका लागि स्थान सुनिश्चित भएपछि निकुञ्जले आवश्यक काठ, ढुंगा, गिट्टी र बालुवा उपलब्ध गराउनेछ । आवश्यक परे श्रम सहयोगसमेत गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
उनले राहत वितरण मात्र समाधान नभएको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न निकुञ्ले दीर्घकालीन कार्यक्रम सञ्चालन गर्नेतर्फ कदम चाल्ने विश्वास दिलाए ।
पीडित परिवारलाई चितवन राष्ट्रिय निकुञ्ज र भरतपुर महानगरपालिकासँगै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाबाट काजकिरिया खर्चबापत एक लाख रुपैयाँ, जिल्ला प्रशासन कार्यालयबाट १५ हजार रुपैयाँ, केरुंगा मध्यवर्ती उपभोक्ता समितिबाट ५० हजार रुपैयाँ, जिल्ला समन्वय समितिबाट २३ हजार रुपैयाँ, नेपाल बोटे समाजबाट ६० हजार रुपैयाँबराबरको जस्ता, नेपाली कांग्रेस चितवनबाट ३० हजार रुपैयाँ सहयोग भएको छ ।
यस्तै, बेलहट्टा हरियाली युवा क्लबले अस्थायी आवास निर्माण गरेको छ भने पूर्वमन्त्री विक्रम पाण्डे, स्थानीय समाजसेवी तथा विभिन्न व्यक्तिहरूले खाद्यान्न, लत्ताकपडा र नगद सहयोग गरेका छन् ।
धुर्बेको शरीरमा नयाँ स्याटलाइट रेडियोकलर जडान हुँदै
धुर्बेको गतिविधि प्रभावकारी रूपमा निगरानी गर्न चितवन राष्ट्रिय निकुञ्जले नयाँ पुस्ताको स्याटलाइट रेडियोकलर जडान गर्ने तयारी गरेको छ । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अविनाश थापाका अनुसार काठमाडौंबाट रेडियोकलर ल्याइसकिएको छ ।
चिकित्सक, प्राविधिक र नेपाली सेनासहितको टोली परिचालन भइसकेको छ । टोलीले डार्ट बन्दुकमार्फत हात्तीलाई केही समयका लागि बेहोस बनाएर रेडियोकलर जडान गर्नेछ। यसअघि जडान गरिएको रेडियोकलरले एक घण्टाको अन्तरमा हात्तीको अवस्थिति देखाउने गरेको थियो भने नयाँ स्याटलाइट प्रणालीले हरेक ३० मिनेटमा धुर्बेको अवस्थिति अद्यावधिक गर्ने सूचना अधिकारी थापाले जानकारी दिए । यस्तै, निकुञ्जले धुर्बेको दाह्रा पुनः काट्ने तयारीसमेत गरेको छ । यसअघि दुई वर्षअघि पनि धुर्बे हात्तीको दारा काटिएको थियो ।